
काठमाडौ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वर्षको जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । यसका लागि बोर्डले रजिष्ट्रेसन फाराम खुला गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताए । शैक्षिक सत्र खेर नजाओस् भन्ने उद्देश्यले बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्ने उनले बताए ।

बोर्डले कक्षा ९ मा अध्ययनरत विद्यार्थीले एसइई परीक्षामा सामेल हुनका लागि बिहीबारदेखि माघ २१ गतेसम्म रजिष्ट्रेसन फाराम भरिसक्न सूचित गरेको छ । सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्म मिति, आमाबुवाको नाम ठीकसँग भरे नभरेको रुजु गरी माघ मसान्तभित्र बोर्डमा पठाउन पनि भनिएको छ ।



यसैगरी खुला तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि सोही मितिभित्र रजिष्ट्रेसन र आवेदन दुवै फाराम भर्नुपर्ने बोर्डले जनाएको छ । रजिष्ट्रेसन फारामका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ । कोरोना महामारीका कारण गत वर्ष एसइई परीक्षा सञ्चालन हुन सकेन । त्यो अवस्था फेरी नदोहोरियोस् भनेर तयारी तीव्र बनाइएको अध्यक्ष पौडेलले बताए ।
