आज उधौली, ल्होसार र यमरीलगायतका पर्व मनाइँदै: राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं : पुष १५ अर्थात आज एकैदिन विभिन्न समुदायका चाडपर्व परेका छन् । आज किराँत समुदायले उधौली, तमु गुरुङ समुदायले ल्होसार र नेवार समुदायले यमरी पर्व मनाउँदै छन् । त्यसैगरी आजै सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा मनाइने विशेष महत्वको ‘पुष पन्ध्र’ पनि मनाइदैछ ।यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले सबै समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको उधौली तथा तमु गुरुङ समुदायको ल्होसार र नेवार समुदायको यमरीलगायत समग्र सांस्कृतिक पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । यस्ता चाडवाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने राष्ट्रपतिले शुभकामनामा उल्लेख गरेकी छन् ।

बिज्ञापन

राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरिन् ।यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले आज परेको चाडवाडका सन्दर्भमा शुभकामना दिँदै देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको पनि बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता नै मुलुकको मौलिक पुँजी भएको बताए । यसैगरी, तमु (गुरुङ) तथा किराँत राई समुदायले मनाउने चाडपर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले प्रचलित भाषा धर्म, संस्कृति, भेषभूषालगायतका विविधता नेपालको बहुमूल्य पुँजी रहेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र सहिष्णुताको यस पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।विभिन्न संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भन्नु हुदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेका छन् ।