कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली रही देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम आंशिक रुपमा बदली हुने महाशाखाले बताएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । बिहीबार दिउँसो प्रदेश १ मा आंशिक बदली तथा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । देशका अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ मा आंशिक बदली तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ । यसैगरी शुक्रबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिज्ञापन

यसैगरी शनिबार दिउँसो लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । साथै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबिच तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।