
हुम्ला : हुम्लामा दैनिक ११ घण्टा लोडसेडिङ हुने गरेको छ । हिल्दुम साना जलविद्युत आयोजनाको मुहानमा पानीको श्रोत कम भएको बाहना गर्दै सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुने गरेको हो । हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक ११ घण्टा लोडसेडिङ गरेपछि जिल्लाका कामहरु प्रभावित भएका छन् ।दिनभर लोडसेडिङका कारण काम बन्द गर्नु परेको कार्यालयका कर्मचारी तथा स्थानीयहरुले जानकारी दिए ।

विद्युतको कारण काम रोकिएपछि कामकाज समेत धरापमा परेको उनीहरुले गुनासो गरे । लोडसेडिङले गर्दा सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालनमा रहेको तीन दर्जनभन्दा बढी व्यवसायहरु मर्कामा परेका छन् । हिल्दुम साना जलविद्युत आयोजनाका वितरण केन्द्रका लालबहादुर लम्साल मुहानमा पानीको श्रोत कम भएकै कारण लोडसेडिङ तालिका वृद्धि भएको स्वीकारछन् । ५ किलोवाट क्षमता भएको हिल्दुम साना जलविद्युत् आयोजनाबाट हाल ८० किलोवाट मात्रै उत्पादन हुन थालेपछि समस्या भएको लम्सालले बताए । हिमपात नभएकोले पानीको श्रोत घटेको उनको भनाइ छ ।



