
काठमाडौँ : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । कांग्रेस निर्वाचन समितिले चुनावमा जानका लागि महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली सूची प्रकाशित गर्दै शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको हो । आज आगामी कार्यकालका लागि पार्टीको नेतृत्वमा रहन चाहनेहरूले उम्मेदवारी दर्ता गर्दै छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी उपर दाबी–विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णय गर्ने समय सीमा राखिएको छ। यस्तै भोलि आइतबार दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रियसभा गृहमा मतदान केन्द्र बनाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।



उनका अनुसार मतदान ‘ब्यालेट पेपर’ मा हुनेछ। कांग्रेसले ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ ९ईभीएम० प्रयोगका लागि पहल गरे पनि शीर्ष नेताबीचमा सहमति नजुटेपछि ‘ब्यालेट पेपर’ नै प्रयोग गरिन लागिएको जनाइएको छ। कांग्रेसको सभापतिमा शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने रामचन्द्र पौडेल पक्ष अझै उम्मेदवारविहीन रहेको छ । पौडेल पक्षमा प्रकाशमान सिंह र डा शेखर कोइरालाले आफ्नो दावी नछाडेपनि सहमति हुन नसकेको हो । आज पनि पौडेल पक्ष बिहानैदेखि छलफलमा रहने बताइएको छ ।
