जसपाका बबन सिंह नेकपाको  ओली समूहमा प्रवेश

रौतहट : जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा संविधान सभा सदस्य बबन सिंह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् । रौतहटको गरुडामा आयोजित एक कार्यक्रममा नेकपा प्रदेश २ का अध्यक्ष तथा सहरी विकास मन्त्री प्रभु साहले सिंहलाई पार्टी प्रवेश गराएका हुन् । रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट सिंहले संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनी नेपाली काँग्रेस, तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए । त्यसपछि मधेशी जनअधिकार फोरम, नेपाल हुँदै समाजवादी पार्टी नेपालमा रहेका उनी पछिल्लो समय जनता समाजवादी पार्टीमा थिए ।

तराई मधेश आन्दोलनका क्रममा चर्चित बनेका सिंहउपर गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्यामा संलग्नताको आरोप छ । प्रतिनिधि सभा र प्रदेश सभामध्ये कुनैमा टिकट नपाएपछि उनी पार्टीसँग असन्तुष्ट रहँदैआएका थिए । उनका श्रीमती अंशु सिंह भने राजदेवी नगरपालिकाका उपप्रमुख छिन् । श्रीमती सिंह समाजवादी पार्टीबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् । पार्टीमा प्रवेश गराउँदै मन्त्री साहले मधेशी समुदायको हक हित नेकपाबाटै सम्भव भएको बताए । समृद्धि र विकास पथमा हिडेको सरकारलाई पार्टीबाट अनावश्यक दबाब र अवरोध सिर्जना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर संसद विघटन गर्नुपरेको बताए ।