
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना खोपको परीक्षण गर्ने तयारी गरेको छ । कुन देशमा बनिरहेको खोप परीक्षण गर्ने हो त्यो भने परिषद्ले भनेको छैन ।
‘खोपको ट्रायल गराउने कुरा परिषद्भित्र पर्छ । टाइफाइडको पनि ट्रायल गराएका थियौँ’, परिषद्का एक सदस्यले भने, ‘कोरोनाको खोप ट्रायल गर्ने प्रस्ताव क्याबिनेटमा लैजादौ छौँ ।’
परिषद्ले खोपको परीक्षण गराउन स्पोन्सर खोजिरहेको छ । ‘ट्रायल गर्न खोप कम्पनीले स्पोन्सर गर्नुपर्छ । अनि सरकारबाट स्वीकृति लिनुपर्छ’, ती सदस्यले भने, ‘स्पोन्सर कुनै संघ संस्थाले पनि गर्न सक्छन् ।’ट्रायल गरेको भ्याक्सिन राम्रो आउन सक्ने परिषद्का अधिकारी बताउँछन् । ‘भ्याक्सिन कहिले आउँछ थाहा छैन । ट्रायल रोकिनुहुन्न । ट्रायल गरेको भ्याक्सिन राम्रो आउन पनि सक्छ’, उनले भने, ‘भ्याक्सिन बनाइरहेका कम्पनीसँग ट्रायलको लागि कुरा भइरहेको छ ।’
अमेरिकाका दुईवटा औषधि निर्माण कम्पनी, भारत, चीन, रुस, ब्राजिललगायत देशमा भ्याक्सिन निर्माणको काम भइरहेको छ ।अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर बनाएको भ्याक्सिन, अमेरिकी कम्पनी मोडेर्ना र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर बनाएको भ्याक्सिनको प्रभावकारिता बढी देखिएको छ ।