
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ ।

संसद विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनमा राष्ट्रपति भण्डारीविरुद्ध अमर्यादित नारा लगाइएको थियो ।



नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा बालुवाटारले पनि चासो देखाएको थियो ।

आइतबार अखिल नेपाल महिला संघले गृह मन्त्रालय पुगेर राष्ट्रपतिलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिलाई कारबाहीको माग समेत गरेका थिए ।
त्यसपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न साइबर ब्युरो, अपराध महाशाखा लगायतका युनिटलाई निर्देशन दिइसकेको छ । स्रोतका अनुसार त्यसरी नाराबाजी गर्ने व्यक्ति पूर्वमाओवादी समूहका नेता हुन् ।
प्रहरीका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दार्चुला, मार्मा गाउँ कमिटीका अध्यक्ष नरबहादुर विष्टले अभद्र नारा लगाएको खुलेको छ । विष्ट माओवादीका तर्फबाट राष्ट्रिय युवा संघका सदस्य समेत रहेको प्रहरी बताउँछ । विष्ट भने काठमाडौं छाडेर भागिसकेका छन् ।