
दमक । `गौरादह नगर, स्वाच्छ नगर´को परिकल्पना गर्दै जनताको मन जितेर चुनाव जितेका जनप्रतिनिधिहरुले सेवा प्रबाह गर्ने आफ्नो कार्यालय अस्तव्यस्त छ, भन्दा धेरैलाई अनौठो लाग्न सक्छ! तर धेरै कुराबाट आलोचित बनेको गौरादह नगरपालिकाको केही वडा कार्यालय फोहोर र अस्तव्यस्तताका कारण अझै आलोचित बन्ने देखिन्छ ।

गौरादह नगरपालिका ५ नम्बर वडा कार्यालय प्रवेश गर्दा वडा कार्यालयमा प्रवेश गरे जस्तो नभइ वर्षौंदेखि अलपत्र परेको भवनमा प्रवेश गरेको महसुस हुन्छ । सरकारी सेवा प्रवाह गर्ने कार्यालयहरु आफैमा स्वच्छ , सफा, सुन्दर र सहज हुनुपर्ने हो। तर वडा कार्यालय प्रवेश गर्ने बित्तिकै जताततै छरिएका फोहोरहरु साथै कार्यालय भित्रपनि फोहोरको डंगुर नै रहेको पाइएको छ ।



रङ खुइलिएर कुरुप देखिएको वडा कार्यालय भवन वरिपरिको फोहोरले झनै कुरुप देखिएको छ ।झ्यालका सिसाहरु फुटेर असुरक्षित रहेको कार्यालयको पछाडिपट्टीको भागमा विभिन्न किसिमका लहराहरुले जेलिएको छ भने जंगली झारहरुले गर्दा वडा कार्यालय झाडीमय बन्ने निश्चित देखिन्छ ।

कार्यालयका प्रयोग बिहिन कोठाहरुमा समेत जताततै अव्यवस्थित रुपमा छरिएर रहेका फर्निचरका सामानहरु धुलोले पुरिएर रहेका देखिन्छन् भने पानीका बोतलहरु छरपस्ट रुपमा फालिएका छन् ।कोठाहरुमा चरा,मुसाले गरेको दिसापिसाबलाई व्यवस्थापन नगर्दा कार्यालय भित्र प्रवेश गर्ने जोकोहीलाई पनि बान्ता हुनसक्ने देखिन्छ ।
यसै सन्दर्भमा ओमकार प्रतिनिधिले वडा अध्यक्ष छत्रपति सुवेदीसंग कार्यालयमा देखिएको फोहोरको बिषयमा जिज्ञासा राख्दा ` भवन निमार्णको कार्य अझै नसकिएको कारणले बाहिरी फोहोर देखिएको हो । र भित्रको फोहोर सरसफाइ गर्ने कर्मचारीको अभावमा भएको हो, हामीसंग जम्मा २ जना कर्मचारी छन् एकजना कार्यालय सहायक र अर्को सचिव ।´ निर्लज्जमय ढंगले जवाफ दिए ।
कर्मचारीको अभाव देखाउदै सेवाग्राहीहरु र कर्मचारी स्वयंको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि फोहोरमा कार्यलय संचालन गर्दा आफैमा अशोभनीय त देखिन्छ नै जनप्रतिनिधि आफैले यस्ता कु तर्कहरु गरिरहदा जनप्रतिनिधिहरुको चेतनाको स्तर कति छ भनेर प्रष्टरूपमा मापन गर्न सकिन्छ ।
अलपत्र सिलाइ मेसिन
त्यसैगरी लाखौं रुपैयाँ खर्च गरेर किनिएको सिलाइ मेसिन प्रयोग बिहिन भएर १ वर्षदेखि वडा कार्यालयमा थन्किएको पाइएको छ । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने अभिप्रायले किनिएको मेसिनहरु लामो समयदेखि थन्किदा केही बिग्रिएर कामै नलाग्ने भएका छन् भने मेसिनका सामानहरु जताततै फालिदा लाखौं रुपैयाँको क्षति भएको छ ।
`कोरोनाको महामारीले गर्दा हामीले मेसिनहरु १ वर्षदेखि थन्काएका थियौं अब संचालनमा ल्याउछौं´ वडाध्यक्ष सुवेदीले ओमकार प्रतिनिधिसंग भने ।सरकारी सामानको सुरक्षा गर्नुपर्ने सामान्य मान्यतालाई जनप्रतिनिधिले नै लत्याएर कोरोनालाइ समस्याको जड बनाउदै लाखौं मुल्य खर्चिएर किनिएको सामानको सुरक्षा नहुदा जनताले तिरेको कर बालुवामा पानी हाले सरह भएको देखिन्छ ।
यसरी समाज र देशको बिकाश गर्दै स्वच्छ,सफा, सुन्दर र समृद्ध देश बनाउछु भनेर सपना बाडेका जनप्रतिनिधिहरु आफैले काम गर्ने वडा कार्यालयलाई समेत व्यवस्थित गर्न नसकिरहदा उहाँहरुबाट जनताले के अपेक्षा गर्ने ? प्रश्न आफैमा गम्भीर रहेको छ ।