हुलाकी पुल निर्माणमा एसएसबीकाे अवरोध

सप्तरी : सप्तरीको खडक खोलाको पुल निर्माणमा भारतीय एसएसबीले अवरोध गरेको छ ।

हुलाकी सडक आयोजना अन्तर्गत डाक्नेश्वरी नगरपालिकाको कटैयामा निर्माण थालिएको खड्क खोलाको पुल निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको हो ।

हुलाकी आयोजनाले २०७६ माघ ८ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग पुल निर्माणका लागि सम्झौता गरेको थियो । कन्स्ट्रक्सनले प्राविधिक कर्मचारी, कामदार र उपकरण ल्याएर काम शुरु गर्न खोज्दा एसएसबीले अवरोध गरेका हुन् ।

हुलाकी आयोजनाका साइट इन्जिनियर आशुतोष कर्णका अनुसार ११२ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल बनाउने तयारी छ । पुल निर्माणका लागि १८ करोड ३३ लाखमा ठेक्का लागेको छ ।

पुल बनाउने भनेर भारतीय गाउँ करियौर र नेपालतर्फका कटैयाका बासिन्दाका बिचमा पुल बनाउने भएको बताउँदै कर्णले त्यही अनुसार नेपाल सरकारले ठेक्का लगाएके बताए । तर भारतीय पक्षले दुबै देशको सहमतिमा बनाउनु पर्ने अडान लिएको उनले बताए । कर्णले यसबारेमा भौतिक पूर्वाधार मन्त्रालयमा जानकारी गराउन लागेको बताए ।