संसद बैठक आज बस्दै, एमसीसी के होला ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ।अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन भनेर यसअघि दुईपटक स्थगित प्रतिनिधि सभाको बैठक फेरि आजका लागि बोलाइएको हो।

संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख गरिएको छ ।आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची शनिबारै तय गरिएको हो ।

बिज्ञापन

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो। संसद्‌मा टेबल भइसकेको एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमा सामान्य छलफल थाल्न भनेर गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको बैठक बोलाइए पनि सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असहयोगका कारण त्यसैबेला प्रस्ताव फेल हुने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुवैपटक बैठक स्थगन गराएका हुन्।

त्यसयता दलका शीर्ष नेताहरु एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन्। यद्यपि, हालसम्म सहमति जुट्न सकेको छैन । अब आज एमसीसी अघि बढ्ला वा नबढ्ला, निकै चासोको विषय बनेको छ।