
दमक । परिवर्तनका लागि युवा अभियान गौरादहले आज गौरादह नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । किसान र आम नगरवासीको पिडालाई नगरपालिकाले सम्बोधन नगरेको भन्दै अभियानले ज्ञापनपत्र बुझाएको हो ।

नगरपालिका भित्र रहेका सम्पुर्ण कृषकहरुलाई समयमा मल तथा बीउ,बिजन उपलब्ध नगराएको साथै उपलब्ध गराए पनि चरम लापरबाही गर्दै आएको कार्यप्रती नगरपालिकाको ध्यान जाओस भन्ने उदेश्यले उक्त ज्ञापन पत्र बुझाएको हो ।किसानको समयमा मल नपाउने समस्या त छदैछ ढिलो गरि मल वितरण गर्दा पनि एकजना व्यापारीको माध्यमबाट आफ्ना आसेपासेलाई मात्र मल वितरण गर्ने गरेको गम्भीर आरोप सहितको ज्ञापनपत्र पेश गरिएको छ ।
सरकारबाट उपलब्ध हुने अनुदानका कृषि सामाग्रीहरु पनि आफ्ना नातागोता र पहुचवालाहरुलाई मात्र दिएको भन्दै यस बिषयमा नगरपालिकाले गम्भीर भएर छानबिन गरेर दोषीलाई कारवाही नगरे अभियानले कठोर संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिइएको छ ।



त्यस्तै ज्ञापनपत्रमा नगरभित्र संचालन भइरहेका टेम्पोहरुले क्षमताभन्दा बढी यात्रुहरु राखि मनपरि रुपमा यात्रुहरुसंग भाडा असुलेर यात्रुहरुमाथि ज्यादती गरेको भन्दै त्यास्ता टेम्पोहरुको अनुगमन गरि तिनीहरुलाई कारबाहीको दायरमा ल्याउन समेत माग गरिएको छ ।

परिवर्तनका लागि युवा अभियानका अध्यक्ष उमेश कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउन अभियानका अध्यक्ष कार्की , उपाध्यक्ष रुपेश शिवा,सचिव असोक कार्की र सदस्य सागर राउतको उपस्थिति रहेको थियो भने ज्ञापनपत्र नगरपालिकाका उपमेयर गिता भेट्वाललाई हस्तान्तरण गरिएको थियो ।