
राजविराज । तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा शनिबार एक युवकको मृत्यु भएको छ । सप्तरीको बिसनपुरबाट जाँदै गरेको प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल बोदे बर्साइनमा दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका–८ का १८ वर्षीय सुदिप चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । उपचारका क्रममा मृत्यु भएका चौधरी मोटरसाइकलको बीचमा बसेका थिए ।
मोटरसाइकल चालक खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडि सवार सोही ठाउँका १८ वर्षीय दिबेश चौधरी गम्भीर घाइते भएका छन् । टाउको र शरीरको विभिन्न भागमा चोट लागी घाइते उनीहरुको बोदे बर्साइनस्थित जीवनदीप अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि युनिक अस्पताल रुपनी ल्याइएको छ ।

तीन जना सवार तीब्र गतीको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको डिएसपी भुवनेश्वरप्रसाद साहले बताए । डिएसपी साहका अनुसार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको शवको पोष्टमार्टमको तयारी भइरहेको छ । दुर्घटना भएको मोटरसाइकल अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बोदे बरसाइनमा राखिएको छ ।



बिहीबार पनि सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी राजमार्गमा तीन जना सवार प्रदेश २–०१–००१–प ६१४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । तीन जना सवार तीव्र गतीको सो मोटरसाइकलका चालक खडक नगरपालिका–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको थियो भने घाइते २१ वर्षीय सुनिलकुमार चौधरी उपचाररत छन् ।
