
२०४७ को संविधान लागू गर्न माग गर्दै आइतबार दिउँसो राजधानीमा र्याली आयोजना गरियो । राजधानी उपत्यकाका विभिन्न भागको परिक्रमापछि सो र्याली माइतीघर मण्डलामा पुगेर टुङ्गिएको थियो । धर्म निरपेक्षता, गणतन्त्र तथा सङ्घीयता नेपालको लागि फलदायी हुन नसक्ने ठहर सहित र्याली आयोजना गरिएको सहभागीहरूले जनाए ।
पैदल, मोटर साइकल तथा गाडीमा रहेका र्यालीका सहभागीहरूले अब मुलुक २०४७ सालको संविधानमा फर्कने एक मात्र विकल्प बाँकी रहेको बताए । साथै उनीहरूले गणतन्त्रमा भ्रष्टाचार र अनियमितताले पराकाष्ठा नाघ्नुका साथै नेतृत्व वर्गमा राष्ट्रवादी भावनामा कमी आएको बताए । २०४६ सालको संविधान पुनर्स्थापनाका लागि सक्रिय व्यक्तिहरूको आव्हानमा सो र्याली आयोजना भएको हो ।
र्यालीमा सहभागीहरूले २०४७ सालको संविधान लागू गर, गणतन्त्र र सङ्घीयता खारेज गर लगायतका नारा लगाएका थिए । पछिल्ला केही महिनादेखि देशव्यापी रूपमा गणतन्त्रको खारेजी, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न तथा सङ्घीयता खारेजीको माग राख्दै विरोध र्यालीहरू आयोजना हुँदै आएको छ ।