दोस्रो अग्लो हिमाल के टू को सफल आरोहण गरेका नेपाली आरोहीहरु फिर्ता

हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल के टू को सफल आरोहण गरेर कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु स्वदेश फर्किएका छन् ।
कीर्तिमानी आरोही निर्मल पूर्जासहित १० नेपालीले विश्वको दोस्रो अग्लो हिमाल के टू को माघ ३ गते सफल आरोहण गरेका थिए ।
उनीहरुलाई त्रिभूवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

पूर्जासहित मिङ्गमा डेविड शेर्पा, मिङ्गमा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्गमा जी, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पाले हिउँदमा के टू को सफल आरोहण गरेका हुन् । यसअघि पूर्जाले गएको वर्ष सगरमाथासहितका ८ हजार मिटर माथिका विश्वका १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

बिज्ञापन

के टू मा अहिलेसम्म कोही आरोहीले पनि हिउँद याममा सफल आरोहण गर्न सकेका थिएनन् । माघ ३ गते शनिबार बेलुका के टू को चुचुरोमा पुग्ने क्रममा पूर्जासहित १० नेपाली आरोहीले कम्तिमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा एक सय किलोमिटर गतिमा चलेको वायुलाई छिचोलेका हुन् । उनीहरुले के टू को चुचुरोमा नेपाली झण्डा फहराएका थिए ।