
काठमाडौँ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले गुठी विधेयक विरोधी आन्दोलनमा राजावादीको घुसपैठ भएको आरोप लगाउँदै, फेरि ०१७ साल फर्काउने कोशिस भईरहेको जानकारी दिनुभयो ।




प्रधानमन्त्री ओली राजावादी शक्तिको कारण तनावमा आउनुभएको रहेछ । उहाँको अभिव्यक्ति र चिन्ताले यस्तै महसुस गराउँछ । उहाँले भन्नुभयो, ‘यस्तै अवस्था सिर्जना गरेर राजा महेन्द्रले कु गरेका थिए ।’

राजा महेन्द्रले कु गरेपछि नै नेपालमा पञ्चायत शासन लागु भएको थियो । पञ्चायतमा दलहरूमाथि प्रतिबन्ध लागेको थियो ।
तर, अहिले राजसंस्था छैन । कसले कु गर्न सक्छ ? राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गुहमन्त्री र रक्षामन्त्री लगायत सबै शक्तिहरूमाथि नेकपा पार्टीको पकड हुँदा हुँदै प्रधानमन्त्री ओलीले फेरि पञ्चायत फर्काउने अभ्यास हुँदैछ भनेर कतापट्टि संकेत गर्न खोज्नुभएको हो ?
केही दिन अघि नेकपाका यूवा नेता योगेश भट्टराईले पनि गुठी विधेयक विरोधी आन्दोलनमा राजावादीहरू पसेको बताउँदै, विधेयक फिर्ता लिनुपर्ने विचार राख्नु भएको थियो ।
के राजावादीले देशको धर्म र संस्कृतिको पक्षमा बोल्नै नहुने हो ? गुठी विधेयक गलत छ भनेर काठमाडौँको सडकमा उफ्रिने जमातमा त कांग्रेस र कम्युनिष्टहरूको पनि सहभागीता थियो होला । उनीहरूले बोलेको कुरा राजावादीलाई किन बोलिस भन्न मिल्छ र ?
अनि, यो परिस्थिति कसले सिर्जना ग¥यो ? प्रधानमन्त्री कै दलबाट सरकारमा प्रतिनिधित्व गरिरहेका भूमी सुधारमन्त्री र सञ्चारमन्त्री अनि सांसदहरूको अभिव्यक्ति र नियतको कारण यो अवस्था सिर्जना भएको होईन र ?
आफैँ आन्दोलनको माहौल तयार पार्ने अनि त्यसमा घुसपैठ भयो भन्ने ? गुठी विधेयक ल्याएर काठमाडौँका नेवारलाई नजिस्काएको भए हुन्थ्यो नि । विधेयक ल्याईरहँदा यसको विरोध हुनसक्छ र विरोधमा राजावादी पनि उभिने छन् भन्ने अनुमान लगाउन सकिएन कि ?