
आईपीएल/साविक विजेता मुम्बई इण्डियन्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

अबुधाबीमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।



शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा टोली पराजित भयो ।
यस्तै जोफ्रा आर्चरले २४, टम कुरानले १५ रन, महिपाल लोमरोरले ११ रन बनाउदा कप्तान स्टिभ स्मिथ ६ रनमा आउट भए ।
मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए भने ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले २–२ विकेट तथा केइरन पोलार्ड, राहुल चाहरले एक एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे । हार्दिक पाण्डयले अविजित ३० र कुर्नाल पाण्डयले १२ रन जोडे ।
राजस्थानका श्रेयस गोपालले २, जोफ्रा आर्चर र कार्तिक त्यागीले १–१ विकेट लिए ।
जितसँगै मुम्बईले ६ खेलमा ८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईको यो चौंथो जित हो भने राजस्थानको यो तेस्रो हार हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको र पुछारबाट दोस्रो स्थानमा छ ।