
कञ्चनपुर । आफ्नै घरमा डेरा गरी बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा एक जना घरबेटी पक्राउ परेका छन् । प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसीका ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई पक्राउ गरेको हो । उनले आफ्नै घरमा डेरा गरी बसेकी १७ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप छ ।

किशोरीले दिएको किटानी जाहेरीका आधारमा मंगलबार जोशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । किशोरीको भाइ कोठामा नभएको बेला माघ १२ गते राति जोशीले किशोरीमाथि बलात्कार प्रयास गरेको किटानी जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । जोशीविरूद्ध अदालतबाट म्याद थप गरेर घटनाबारे अनुसन्धान गरिएको प्रहरीले जानकारी दिएको छ ।
बिज्ञापन



