
हेटौंडा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन जिल्ला जिल्लामा निर्माण गर्न जोड दिएका छन् । शनिबार हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म निर्माण हुने बताए ।

नेपालले छिट्टै नै केन्द्रमा पाँच दलीय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए । नेपालले भने ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस् । अरु सँगपनि सहकार्य गर्नुहोस् । पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस् । केन्द्रदेखि तलसम्म जान्छौं ।’



उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए । उनले भने, ‘खेतीमा लागेपनि हुन्छ । सहकारीमा लागेपनि हुन्छ । तपाईहरु उद्यमशिल बन्नुहोस् ।’ उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए । नेपालले भने,‘पदको निम्ति हानथाप होइन । खुबी र क्षमता बढाउनुस् । प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं ।’
