
बुटवल : नेकपा स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौँ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका छन् । बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा उनले युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताएका हुन् ।
‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? रायमाझीले भने, ‘हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ।’ उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ गरिरहेको टिप्पणी गरे ।
‘पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो ?’ उनले भने । रायमाझीले प्रचण्ड र माधव विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा गएर बाटो बिराएको बताए ।