प्रदेश नं १ मा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु

विराटनगर/ प्रदेश नं  १ मा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको खोप आजबाट लगाउन सुरु गरिएको हो । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र डा. दीपक सिग्देलले पहिलो खोप लगाएर अभियानको सुरुवात गरेका हुन । खोप अभियानको शुभारम्भ गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड–१९ विरुद्ध विजयी प्राप्त गर्ने कामको थालनी भएको बताउनुभयो । उहाँले लक्षित वर्गपछि अन्य व्यक्तिहरुलाई पनि खोप लगाउन सुरु गरिने जानकारी दिँदै भारत सरकारको सहयोगका लागी धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

सरकारले सबै व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउने तयारी गरेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज प्रदेश १ अन्तर्गतका ८ जिल्लाका १९ वटा खोप केन्द्रबाट खोप लगाउने अभियानको सुरुवात भएको छ । अभियानको आज पहिलो दिन झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५ सय ६ जनालाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य रहेको छ ।

बिज्ञापन

जसअन्तर्गत मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप लगाउनका निम्त्ति स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम समेत दिईसकिएको प्रदेश सरकारको दाबी छ । कोभिड–१९ विरुद्धको खोप लगाईसकेपछि कोशी अस्पतालका बरिष्ठ फिजिसिजन डा. दीपक सिग्देलले भ्याक्सिन सुरक्षित रहेकाले डराउनु नपर्ने बताउनुभयो । उहाँले कोभिड सिल्ड ७० प्रतिशत प्रभावकारी रहेको जिकिर गर्दै पहिलो खोप लगाएको २८ दिनपछि दोश्रो खोप लगाए ५ महिनासम्म सुरक्षित रहन सकिने जानकारी समेत दिनुभयो । प्रदेश १ मा पहिलो चरणमा भने सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाईकर्मी सहित ३५ हजार ५ सय ७६ जनालाई खोप लगाईदैछ ।