एकीकृत फलफुल तथा तरकारी थोक बजार सञ्चालनमा आउने

विराटनगर/ निर्माण भएको लामो समयसम्म अलपत्र अवस्थामा रहेको  मोरङको कटहरी गाउँपालिकामा अवस्थित रहेको एकीकृत फलफुल तथा तरकारी थोक बजार सञ्चालनमा आउने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टिकृत सहकारी संघ बिचको द्विपक्षीय सम्झौता बमोजिम सो बजार सञ्चालनमा आउने
भएको हो ।
कृषि बजारलाई व्यवस्थित गर्न नेपाल सरकारले २ वर्ष अघि नै मोरङको कटहरीमा कृषि थोक बजार निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । विराटनगरको गुद्री बजारलाई व्यवस्थित गर्दै सो बजारमा स्थानान्तरण प्रदेश सरकारको योजना थियो । तर गुद्री बजारका व्यापारीहरु त्यहाँ जान नमानेपछि कृषि बजार सञ्चालन अलपत्र बनेको थियो । कृषकले उत्पादन गरेको फलफूल तथा तरकारीलाई व्यवस्थित बजार दिने उद्देश्यका साथ संघीय सरकारले स्थानीय जनप्रिय मा.वि कटहरीको ५ बिगाहा २ धुर क्षेत्रफलमा कुल १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँको लागतमा सो बजार निमार्ण गरेको थियो । २०७५  मंसिर २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो बजारको उद्धाटन समेत गर्नुभएको थियो । तर विराटनगरस्थित गुद्री बजारका स्थानीय व्यापारीहरुको विवादका कारण निमार्ण सम्पन्न भएको अढाई बर्षसम्म सो बजार सञ्चालनमा आउन सकेन । यद्यपि हाल सो एकीकृत फलफुल तथा तरकारी थोक बजार सहकारीसँगको सम्झौता बमोजिम सञ्चालन गर्ने तयारी भईरहेको भुमि व्यवस्था, कृषि  तथा सहकारी मन्त्रालय प्रदेश नंं. १ की सचिव निरु दाहाल पाण्डेले
बताउनुभयो ।

प्रदेश सरकारले सम्झौता भएको मिति देखि ५ वर्षसम्मका लागि सो बजार सञ्चालनको जिम्मा सहकारीलाई दिएको छ । जसबापत सहकारीले
मन्त्रालयलाई वार्षिक १९ लाख २० हजार महशुल बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ । आवश्यक प्रक्रिया पु¥याएर अबको केहीदिन
भित्रै बजार सञ्चालनमा आउने विराट कृषि उत्पादन तथा बजारीकरण बिशिष्टिकृत सहकारी संघका सचिव राकेश दाहालले जानकारी दिनुभयो । बजारमा ४५ हजार मेट्रिक टन तरकारी र ८ हजार मेट्रिक टन फलफूल राख्ने क्षमता छ । १३ करोडको लागतमा निर्माण भएको सो बजारमा थोक बिक्रेताका लागि ४० वटा र खुद्रा बिक्रेताका लागि ३५ वटा स्टलका साथै अत्याधुनिक प्रशासनिक भवन समेत छ । यो बजारबाट स्थानीय बजारमा तरकारी तथा फलफुल सजिलै उपलब्ध हुनुका साथै सुनसरी, मोरङ, झापा र धनकुटाका कृषकहरु समेत लाभान्वित हुने जनाईएको छ ।

बिज्ञापन