चीनले पनि ३ लाख डोज खाेप अनुदान दिँदै

चीनले आफ्नो देशमा उत्पादन भएको काेभिड-१९ विरूद्धको ‘सिनोभ्याक्स’ खोप नेपाललाई अनुदानमा दिने भएको छ । चीनले छिटै ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदानमा दिने निर्णय गरेको हाे । नेपालस्थित चिनियाँ दूतावासले प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको हो ।

‘नेपाल र चीन असल छिमेकी, असल मित्रहरू तथा असल साझेदार हुन् । भूकम्प वा महामारीजस्ता चुनौतीहरूको सामना गर्नुपर्दा दुवैले एक–अर्कालाई दुःखसुखमा सहयोग गरेका छन्,’ प्रेस नोटमा भनिएको छ । चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो  । दुई चरणमा लगाएपछि कोभिडविरुद्ध यो खोपले करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाएको चिनियाँ दूतावासले जनाएको छ ।

चीनले दिएका खोप करिब एक लाख ५० हजार नागरिकलाई लगाउन पुग्नेछ । चीन र अन्य मुलुकहरूमा खोपको माग व्यापक बढिरहेका वेला चीनले नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने निर्णय गरेको पनि दूतावासले उल्लेख गरेको छ । ‘खोप उपलब्ध गराएर चीनले नेपाल–चीन मित्रतालाई ठूलो महत्व दिएको छ,’ प्रेस नोटमा भनिएको छ ।