मलेसियाले विदेशी कामदारको आवेदन लिन दुई हप्ताका लागि रोक्यो

मलेसियाले विदेशी कामदारको आवेदन लिन दुई हप्ताको रोक लगाउने भएको छ । अगष्ट १५ देखि ३१ तारिखसम्मका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति गर्न रोकेको हो । मलेसियाको मानव संशाधन मन्त्रालयले रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाएको जनाएको छ ।

तर १४ अष्टसम्म रोजगारदाताहरुले पेश गरेका सबै आवेदनहरू प्रशोधन गरी पूरा गरिने मन्त्रालयले प्रष्ट पारेको छ । ५ अगष्टमा जारी गरेको विज्ञप्तीमा १ सेप्टेम्बरदेखि कार्यान्वयनमा ल्याउन लागिएको संशोधित रोजगार ऐन–१९५५ को तयारीका लागि रोक लगाइएको जनाएको छ ।

संशोधित रोजगार ऐनमा सुधार गरिएको प्रावधानहरूका विषयमा भने केही जानकारी दिइएको छैन् । १५ दिनभित्र विदेशी कामदारहरूको आवेदन स्वीकार गर्न बन्द गरिन लागिएको हो । रोकिएको प्रक्रिया १ सेप्टेम्बर २०२२ देखि पुनः सुचारू हुनेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार मलेसियाको संसद्ले गत मार्चमा रोजगार (संशोधन) ऐन २०२२ पारित गरेको थियो । संशोधित ऐनबाट सुत्केरी विदा बढाइएको छ । सुत्केरी महिला कामदारले ६० दिन सुत्केरी विदा पाउने प्रावधानलाई संशोधन गरेर ९८ दिन बनाइएको छ । मलेसियाले अन्तर्राष्ट्रिय श्रम संगठनको सिफारिसमा प्रसुती विदा बढाएको हो ।

त्यस्तै गर्भवती महिला कामदारलाई कामबाट निकाल्न नपाउने व्यवस्था पनि गरिएको छ । त्यस्तै कर्मचारीहरूको अधिकतम साप्ताहिक कार्य घण्टा पनि घटाइएको छ । अहिलेसम्म हप्तामा ४८ घण्टा अनिवार्य काम गर्नुपर्ने कानूनी व्यवस्था थियो । संशोधनपछि अब ४५ घण्टा काम गर्नुपर्नेछ ।