
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि तयारी सुर गरेको बताएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि ‘र्यापिड रेस्पोन्स टीम’ तयार गरेको हो । मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको हो । कुनैपनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल र्यापिड रेस्पोन्स टीमले कुखुरा नष्ट गर्ने काम गर्ने पनि बताए ।
नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले प्रष्ट पारे । अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट रहेको पनि बताए । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा. निर्मलको भनाइ छ । तर एच फाइभ एन एटमा एच फाइभ एन वान मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेको मानेर त्यसको नियन्त्रणका लागि सरकारी निकायहरुबीच छलफल भइराखेको पनि बताए ।
मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोष्टहरुलाई सतर्क रुपमा राखेको पनि बताए । सहसचिव डा. निर्मलले मासु व्यवसायी र किसान जो कुखुराको प्रत्यक्ष सम्पर्कमा छन् । उनीहरुले ठूलो मात्रामा कुखुरा मरेको पाइएमा तत्काल जानकारी गराउन समेत आग्रह गरे । त्यसबाहेक कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, केस छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचुरुङ्गी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउन समेत आग्रह गरेका छन् । उपभोक्ताले पनि न्यूनतम ७० डिग्री तापक्रममा मासु पकाएर खान सक्ने उनको भनाइ छ । मन्त्रालयले स्थानीय निकायहरुसँग पनि समन्वय गरी अनुगमन गरिरहेकोले कसैले मरेका कुखुरालाई काटेर विक्री वितरण गरेको पाइए कारबाही गर्ने समेत बताए ।