जनता समाजवादी पार्टी बैकल्पिक शक्ति बन्छ : राजेन्द्र महतो

अहिले मुलक संसद विघटनको अवस्थामा छ ।सत्तासीन नेकपा आन्तरिक द्वन्दमा फसेको छ । नेकपाको एक खेमा बैशाखमा जसरीपनि चुनाव गराउने पक्षमा छ भने अर्को खेमा जसरी पनि संसद पुनःस्थापना गर्ने पक्षमा छ । नेकपाको दुईखेमाको अन्तरसंघर्षले देशमा राजनीतिक गर्मी बढेसंगै राजनीतिक अन्यौलता पनि बढेको छ । प्रस्तुत छ बर्तमान राजनीतिक अबस्थाको परिप्रेक्षमा ओमकार टाईम्स प्रतिनिधिले जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोसंग गरेको कुराकानी :-

तपाईहरुको पार्टीमा आन्तरिक विवाद छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन जस्तो प्रतिगामी विरुद्ध चरणबद्ध आन्दोलनमा जाने भनिरहँदा तपाईहरु चैं चुनावमा जाने पक्षमा हुनुहुन्छ , वास्तविकता के हो ?

बिज्ञापन

– सब वाहियात कुरो हो, मिडियाको प्रचारबाजी हो । त्यो अनावश्यक रुपमा प्रचार गरिएको बिषय हो । पार्टीको एउटा एजेण्डा र एउटै निर्णय छ ।प्रतिगमन विरुद्ध पार्टी लडिरहेको छ । प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले त्यसकै लागी संघर्ष गरिरहेका छौं। वर्तमान राजनिति संकटको स्थाई समाधानका लागी संविधानमा जुन त्रुटि छ, त्यसलाई सच्याएर अघि जानुपर्छ भन्ने हाम्रो माग हो । र यो बिषयवस्तु अदालतसम्म पुगिसकेको हुनाले अदालतको निर्णय बमोजिम हामी अघि बढछौं । हामी अदालतको निर्णयको प्रतिक्षामा छौं ।

प्रधानमन्त्री ओलीले यसअघि पनि तपाईको पार्टी फुटाउन खोज्नुुभएको थियो । अहिले पनि त्यही प्रयासमा हुनुहुन्छ ।तपाईले त्यसलाई कसरी रोक्नुहुन्छ, त्यसको सामना कसरी गर्नुहुन्छ ?

– त्यो स्वभाविक हो । उहाँको आफ्नै पार्टी फुटिसक्यो, अरुको पार्टी के फुटाउनुहुन्छ ? पार्टी फुटेको फाईदा चैं हामीलाई भएको छ । अहिले वैकल्पिक शक्ति निमार्णका लागी नेकपा र कांग्रेसका हजारौं कार्यकर्ताहरु हाम्रो पार्टीमा प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्न नसकेर कांग्रेस र कम्युनिष्ट धारका नेता तथा कार्यकर्ता र त्यससँग सम्बद्ध मिडियाहरुले प्रयोजित रुपमा अर्नगल प्रचार गर्ने कार्य गरिरहेका छन्। त्यसमाथि विश्वास गर्नु मुर्खता हो । हिजो अस्ति मात्रै प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र दमक जाँदा हजारौं व्यक्ति चैं कम्युनिष्ट कांग्रेस छोडेर जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

तपाईहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक हो भनिरहनुभएको छ । तर प्रचण्ड र माधव पक्ष तथा अन्य पार्टीहरुसँग मिलेर संयुक्त आन्दोलन जान मान्नुभएको छैन् । कसले रोक्यो ?

– एजेण्डा संयुुक्त भएपछि आन्दोलन पनि संयुक्त भईहाल्छ । यो दोश्रो प्रतिगमन हो । पहिलो प्रतिगमन संविधान बनाउने बेलामा पनि भयो । हाल आएर प्रधामन्त्री ओलीले दोश्रो प्रतिगमन गर्नुभएको हो। त्यसकारण पहिलो प्रतिगमन र दोश्रो प्रतिगमनलाई आधार मानेर संयुक्त एजेण्डा तय गरेर आन्दोलनमा जान सकिन्छ । त्यसका लागी जसपा तयार छ ।

अहिलो यो बिषय अदालतमा छ । अब भोलिका दिनमा अदालतले संसद विघटनलाई सदर गरिदियो र आगामी बैशाखमा हुने भनिएको मद्यावधि चुनाव पनि भएन भने संवैधानिक संकट उत्पन्न हुने सम्भावन प्रबल छ । त्यसपछिको अवस्था के हुन्छ ?

– हेरौं, पहिले अदालतले के फैसला गर्छ । अदालतले संविधान अनुसार फैसला गर्छ भन्ने हाम्रो आशा छ । अदालतको फैसला बमोजिम नै मुलुकलाई अघि बढोस भन्ने हाम्रो चाहना हो । अनि निर्वाचन चैं हुनैपर्छ भन्ने हाम्रो अडान हो । निर्वाचन भएन भने प्रधानमन्त्री ओलीले देश, संविधान र लामो समयको संघर्ष पश्चात प्राप्त भएका सम्पुर्ण उपलब्धिहरु समाप्त पार्नुहुन्छ । त्यो हाम्रो लागी ठुलो दुर्भाग्य हुन्छ ।

देश पुरानै अवस्थामा पुग्ने सम्भावना चैं कत्तिको देख्नुहुन्छ ?

– केही भन्न सकिँदैन । उहाँहरुले ६ वटा संविधान सिद्याउनुभयो, ७ औं संविधान पनि कुन दिन सिद्याउनुहुन्छ, कुनै टुंगो छैन् । मुलुक गणतन्त्रसम्म आयो, ७ औं संविधान पनि बनायो । तर देश र जनताका लागी बनाई दिएनन् । आफ्नो लागी बनाए, नस्लिय चिन्तनसोचका साथबनाए । त्यसैले यो संविधान पनि कहिले सिद्याईदिन्छन, टुंगो छैननि । उहाँहरुको कुकर्म नै त्यही हो । ६ वटा सके, ७ औं पनि सकिदिँदाआश्चर्य मान्नुपर्दैन ।

जस्तो अहिले संघीयता, समानुपातिक, समावेशी र धर्म निरपेक्षता चैं लामो समयको जनआन्दोलन तथा जनयुद्धपश्चात प्राप्त भएका प्रमुख महत्वपुर्ण उपलब्धिहरु हुन । तर प्रधानमन्त्री ओलीले अहिले त्यसकै विरुद्धमा बोल्दै हिँडिरहनुभएको छ । यसको प्रतिवाद चैं कसरी गर्नुहुन्छ ?

– संविधान बन्ने बेलामा नै बयलगाडा चढेर अमेरिका पुग्ने कुरा प्रधानमन्त्री ओलीले गर्नुभएकै हो । उहाँ संघीयता, लोकतन्त्र र गणतन्त्रको जन्मजात विरोधी जस्तै हुनुहुन्छ । कम्युनिष्ट पनि विरोधी, कांग्रेस पनि विरोधी देखिएकै हो । सम्झौता गरेको न हो । अनि प्रधानमन्त्री ओलीले भोकल रुपमा यी उपलब्धिहरु समाप्त पार्ने भनिरहँदा र त्यसको लागी कदम पनि चालिसकेको हुनाले हामीले त्यसको विरोध गरेका हौं । संघीय लोकतान्त्रिक गणतन्त्र सिद्याईदिने हो कि ? संविधानलाई मास्दिने हो कि ? भन्ने शब्का त छँदैछ नि ।

वर्तमान राजनितिक घटनाक्रमलाई आधार बनाएर अहिले संवैधानिक राजतन्त्र स्थापनाका लागी निरन्तर आन्दोलन भईरहेका छन् ।त्यसको सम्भावना कत्तिको देख्नुहुन्छ ?

– त्यो केपी ओलीका लागी नौलो कुरा होईन । उहाँले त्यतिबेला पनि त्यही कुरा गर्नुभएको थियो । अहिले पनि त्यही गर्दै हुनुहुन्छ । उहाँले प्रतिगामी कदम उठाएकै हो । त्यसैले जनताले जे भन्छ त्यही हुन्छ र हुनुपर्छ । नेपाललाई एकल राष्ट्र राज्यका रुपमा बनाईएको हो । यसको संविधान र शासन एकल राष्ट्र राज्यका रुपमा स्थापित छ । बहुलराष्ट्र राज्यका रुपमा स्विकार नगरिएकाले यस्ता समस्याहरु आईपरेका छन् । त्यसैले यहाँको संविधान र शासन बहुल राष्ट्र राज्यको मान्यताको आधारमा सुधार गर्नुपर्छ । अनि बल्ल चैं नेपाल अधिकार प्राप्त देशका रुपमा स्थापित भई सुशासन र समृद्धितर्फ अग्रसर हुन्छ ।तर हालको शासकवर्गले यो गरिरहेको छैन । त्यसैले वैकल्पिक शक्ति निमार्णको आवश्यकता हामीले महशुस गरेका छौं । त्यसैको अवधारणा बमोजिम हामी एकजुट भएका हौं । देशलाई वैकल्पिक शक्ति दिने हो। देशलाई बहुल राष्ट्र राज्यको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो ।त्यसकारण सोही प्रयोजनका लागी हामी हिमाल, पहाड र तराईका जनता एकीकृत हुने क्रममा छौं । अहिले ९९ प्रतिशत जनता वैकल्पिक शक्तिको तलाशमा छ । त्यसकारण जनता समाजवादी पार्टी वैकल्पिक शक्ति बन्छ र यी
समस्याहरुको समाधान हुन्छ ।