` समृद्ध दमक , सुखी दमकवासी´ बनाएर देखाउने चाहाना छ : रोशन बिष्ट

रोशन बिष्ट दमक नगरपालिकामा मात्र नभई झापा जिल्लामै परिचित नाम हो । बिष्ट राजनीतिक रुपमा मात्र परिचित नभई सामाजिक , बौद्धिक व्यक्तित्वका रुपमा अझ बढि परिचित छन् । युवाहरुमा अझ बढी लोकप्रिय बिष्ट बिद्यार्थी काल देखि नै नेपाल बिद्यार्थी संघ मार्फत राजनीति गरेर उक्त संगठनको झापा जिल्ला सभापति समेत भएका थिए । आसन्न नेपाली कांग्रेसको अधिवेशनलाई समेत लक्षित गरि नेपाली कांग्रेस दमक नगरपालिकाको सभापति रहेका बिष्टसंग ओमकार टाइम्स प्रतिनिधिले गरेको कुराकानी :-

तपाईं युवा अबस्था मै नेपाली कांग्रेस जस्तो पार्टीको दमक नगरपालिकाको सभापति हुन सफल हुनुभयो , नेपाली कांग्रेस पार्टी नै रोज्नुको कारण ?

– खासमा म राजनीतिमा आउनुको पछाडि मेरो पिताजीको ठूलो हात छ । उहाँ पनि स्थानीय स्तरमा राजनीति गरेर जनताको सेवा गर्नुहुन्थ्यो । उहाँ दुई कार्यकाल नेपाली कांग्रेसको तर्फबाट दमक नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्ष भएर काम गर्नुभयो । त्यही दौरान मैले नेपाली कांग्रेसको निति सिद्धान्त सिके , नेपालको सबैभन्दा जेठो पार्टी , नेपालमा भएको प्रत्येक परिवर्तनको नेतृत्व गरेको पार्टी , बि.पि . कोइराला लगायतका नेताहरुले नेपालमा समाजवादको सपना देखेर जन्माएको पार्टी भएकाले म नेपाली कांग्रेसमा प्रेरित भएर आबद्ध भए ।

अहिले पार्टी बि.पी.को सिद्धान्त अनुरुप चलेको छ जस्तो लाग्छ तपाईलाई ?

– बि.पी.ले परिकल्पना गरेको सिद्धान्त अनुरुप पार्टी चल्नमा कहि कमीकमजोरी भएको हो कि भन्ने कुरामा आम जनताले महशुस गरेका छन् त्यो कुरा हामी कांग्रेस कै कार्यकर्ताले पनि महशुस गरेका छौ । बि.पी. स्वयम्ले भन्नुहुन्थ्यो कुनैदिन यस्तो आउँछ जुनदिन सुकिलामुकिलाहरुले पार्टी कब्जा गर्छन् र पार्टीको सिद्धान्त कम्जोर हुदैजान्छ र पार्टी धरापमा पर्दछ ।

नेपाली कांग्रेसको राजनीतिक जीवनको विभिन्न कालखण्डमा त्यो परिस्थिति आएको पनि हो तर नेपाली कांग्रेसको बफादार नेता कार्यकर्ताद्वारा त्यो स्थितिलाई पराजित गर्दै आएको हुनाले भोलिका दिनमा पनि त्यो स्थितिलाई पराजित गर्न कांग्रेस सक्षम छ । अर्को कुरा यो संसार समय अनुरुप परिवर्तन हुदैजादा पार्टी पनि केही परिमार्जित चै हुनुपर्ने रहेछ त्यो परिमार्जनलाई नै विचलनको रुपमा पनि हेरिहाल्नु हुदैन यसको मतलब फेरि सैद्धान्तिक रुपमै परिमार्जन भन्नेपनि हैन ।

गणतन्त्र , संघीयता र धर्म निरपेक्षता यी मुद्दा पार्टीको सिद्धान्त अनुरुपनै पार्टीले स्वीकार गरेको हो ?

– मैले अगि नै भने समयअनुसार पार्टी पनि परिमार्जन भएर जानुपर्ने हुदोरहेछ । यी मुद्दाहरु त्यो बेलाको परिस्थिति र समयको माग थियो , नेपालमा शान्ति स्थापना गर्ने उदेश्यले पार्टीले त्यो बेला यी मुद्दाहरुलाई स्वीकार गर्यो तर यी मुद्दाहरुलाई जनताबाट नै फैसला भएर आएको भए राम्रो हुन्थ्यो भन्ने चै मलाईपनि लागेको छ ।

तपाई आफै पार्टीको नेतृत्व नगरपालिका स्तरमा गर्दैगर्दा , तपाईको पार्टीको नेतृत्वले गरेको गल्तीहरुमा तपाईलाई लज्जा वोध हुन्छ कि हुदैन ?

– हुन्छ अवश्य हुन्छ र हुनुपनि पर्छ । यो बिषयमा हामीले पटक पटक नेतृत्वलाई खबरदारी समेत गरेका छौं । पार्टीका युवा नेताहरु मार्फत नेतृत्वलाई सम्झाउन लाएका पनि छौं । नेतृत्वले गल्ती गर्नुहुदैन भन्ने चाहाना हामी तमाम नेता कार्यकर्ताहरुको हो नि ।

तपाईहरुको पार्टीको अधिवेशन आउँदैछ , तपाई फेरि नगर सभापतिमा उठ्ने हल्ला छ नि ?

– हो म फेरि नगर सभापतिमा उठ्छु । मेरो चाहाना भरसक चुनाव नभई सहमति मै होस् भन्ने हो र त्यसको लागि साथीहरूसंग छलफल चलिरहेको छ ।

तपाईले फेरि नगर सभापतिमा उठ्छु भन्दै गर्दा , तपाईं नगर सभापति भएकै बेला नगरमा स्थानीय चुनाबमा नेपाली कांग्रेसको तर्फबाट जनप्रतिनिधि शुन्य छ , यसको नैतिक जिम्मेवारी तपाईले लिनुपर्छ भन्छन् नि ?

– हो यही भ्रमलाई चिर्न म पुन: नगर सभापति पदमा उठ्न लागेको हो । मैले नैतिक जिम्मेवारी लिने कुरामा त म लिन्छु तर यो प्रयाप्त हो ? त्यो बेला म नगर सभापति भए लगत्तै चुनाब आयो , देशैभर एमालेले राष्ट्रियताको कार्ड फालेर जनलहर ल्याएको थियो त्यो जनलहरलाई चिर्ने प्रयाप्त समय भएन । प्रमुख कारण यो नै हो ।

तपाईं दमक नगरपालिकाको नेपाली कांग्रेसको सभापति रहिरहदा पार्टीगत उपलब्धि के के हासिल भयो ?

– हामीले गुमाएका दमक भरिका संघसंस्थामा आज हेर्नुस् नेपाली कांग्रेसको नेतृत्व छ । दमक उद्योग बाणिज्य संघमा बहुमत सहित अध्यक्ष कांग्रेसको छ ।दमक खानेपानी संस्था हेर्नुस् , दमक बहुमुखी कलेज हेर्नुस् , रेडक्रस दमक शाखा हेर्नुस् यी संस्थाको नेतृत्व आज नेपाली कांग्रेसका साथीहरूले गरिराख्नु भएको छ । म नगर सभापति भएर आउदै गर्दा दमकमा जम्मा १५८० जना कांग्रेसको क्रियाशील सदस्य हुनुहुन्थ्यो आज त्यसलाई बढाएर ३३०० पुर्‍याएका छौं । आज दमक नगरपालिका भरिका प्रत्येक टोल-टोलमा कांग्रेसको संगठनलाई चुस्त दुरुस्त बनाएका छौं ।

यी मात्र पर्याप्त हैन मेरो चाहाना अब दमक नगरपालिकामा पनि नेपाली कांग्रेस पार्टीले नेतृत्व गरेर ` समृद्ध दमक , सुखी दमकवासी´ बनाएर देखाउने चाहाना छ । यो चाहाना पूरा गर्ने लक्ष्यका साथ म पुनः एकपटक दमक नगरपालिकाको नगर सभापति हुन चाहन्छु , यसमा मलाई तमाम नगरवासी नेपाली कांग्रेसको नेता तथा सम्पूर्ण कार्यकर्ताहरुले साथ दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।

अन्त्यमा भन्न बाँकी केही कुराहरु छन् ?

-अहिले बिश्वब्यापी कोरोनाको बेला नेपाल पनि कोरोनाबाट मुक्त रहन सकेन ।यो महामारीबाट ज्यान गुमाउनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र कोरोनाले बिरामी पर्नुहुने सम्पूर्ण नेपालीहरुलाई सिघ्र स्वास्थ लाभको कामना गर्दछु । यो महामारीको समयमा दमकमा रहनुहुने सम्पूर्ण नगरवासीहरुलाई सुरक्षित र संयमित भएर रहन अनुरोध पनि गर्दछु ।