
गण्डकी प्रदेशमा शुक्रबार वर्षा भएको छ । वर्षायाम सकिएको लामो समयपछि शुक्रबार विहानैदेखि पोखरा र प्रदेशका विभिन्न जिल्लाहरुमा हल्का वर्षा भइरहेको हो । कास्की नेपालकै सबैभन्दा धेरै पानी पर्ने जिल्ला भएपनि लामोसमयदेखि वर्षा नहुँदा पोखराको आकाश नखुलेका कारण चिसो बढेको थियो । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण वर्षा भएपछि कास्कीको चर्चित पदमार्ग मर्दी हिमाल ट्रेकको हाइक्याम्प, लो क्याम्प र फरेष्ट क्याम्पमा बाक्लो हिमपात भएको छ ।

त्यसैगरी पर्यटकीय स्थलहरु घान्द्रुक, घोरेपानी र पुनहिल लगायतका स्थानमा समेत बाक्लो हिमापात भएको स्थानीय ब्यवसायीहरुले जानकारी दिएका छन् । पदमार्गमा पर्ने पुनहिल, घोडेपानी, उल्लेरी लगायतका स्थानहरुमा बाक्लो हिउँपात भएको स्थानीय व्यवसायी कमल पौडेलले बताए । उनका अनुसार शुक्रबार बिहानैबाट बर्षासँगै हिमपात भएको हो । वर्षाको कारण पोखरामा पनि वर्षासँगै अत्याधिक चिसो बढेको छ । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, बाग्लुङ, म्याग्दी लगायतका स्थानमा पनि बिहानैदेखि हिउँ परेको बताइएको छ । वर्षा र हिउँ परेपछि बालीनाली सप्रने र मौसममा समेत सुधार आउने स्थानीयको बताउँछन् ।



