दुर्घटना न्युनीकरण गर्ने लक्ष्यका साथ विराटनगरमा आकाशे पुल निमार्णको प्रक्रिया शुरु

विराटनगर । विराटनगर महानगरपालिकाले नगरक्षेत्रभित्र बहुप्रतिक्षित ३ वटा आकाशे पुल निमार्णको प्रक्रिया अघि बढाएको छ । पछिल्लो समय विराटनगरमा सवारीसाधनको चाप बढ्न थालेपछि आम सर्वसाधारणको सुगमता र दुर्घटना न्युनीकरण गर्ने लक्ष्यका साथ महानगरले आकाशे पुल निमार्णको प्रक्रिया अघि बढाएको हो । महानगरले १ बर्षभित्र सम्पन्न गरिसक्ने गरी मुल्य अभिवृद्धि कर बाहेक कुल २ करोड ४७ लाखको लागतमा पुल निमार्णको प्रारम्भिक प्रक्रिया अघि बढाएको जनाएको छ ।

पुल निमार्णका लागी कला विल्डर्स र आर.के विल्डर्स एण्ड कन्सर्टक्सन कम्पनीले ठेक्का हात पारेको महानगरका ईन्जिनियर अर्जुन थापाले बताउनुभयो । महानगरले गतबर्षदेखि नै पुल निमार्णको प्रक्रिया थालेपनि सडक विभागको स्वीकृत र कानुनी बाधा अड्चनका कारण सो परियोजनाले केही समय ढिलाई व्यहोेरेको थियो । तर हाल सडक विभागको स्वीकृति बमोजिम महानगरले प्राविधिक तथा आर्थिक मुल्यांकनको आधारमा पुल निमार्र्ण हुने आशयसहितको सुचना समेत प्रकाशन गरिसकेको छ ।

बिज्ञापन

आकाशे पुल निमार्णका लागी प्रारम्भिक चरणको प्रक्रिया अन्तर्गत महानगरले अहिले टेण्डर प्राप्त गर्ने निमार्ण कम्पनीहरुलाई सम्झौताका लागी पत्र समेत काटिसकेको छ । अबको महिनादिन भित्रै निमार्ण कम्पनीसँग सम्झौता भई पुल निमार्णको कार्य थालिने महानगरका ईन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । नगरक्षेत्रभित्रको विराटनगर–धरान सडकखण्ड अन्तर्गत घाँस चोक, बरगाछी चोक र कञ्चनबारी चोकमा आकाशे पुल निमार्ण गर्ने महानगरको परियोजना छ ।

यसले विराटनगरको सौन्दर्यता र विकासमा थप टेवा पुग्ने महानगरको परिकल्पना छ । ६ लेन सडकको मापदण्ड अनुसार निमार्ण हुन गईरहेको आकाशे पुल फलामे संरचनाको हुने महानगरले जनाएको छ । आवश्यकता र अवस्था बिश्लेषणको आधारमा आकाशे पुललाई भने अन्यत्रै पनि सहजै स्थानान्तरण गर्ने सकिने अवधारणा बमोजिम निमार्ण प्रक्रिया अघि बढाईएको महानगरको दाबी छ ।