प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा नारावाजी गर्दै नेविसंघ

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा नेपाल विद्यार्थी संघले विरोध गरेको छ। कोरोनाभाइरस महामारीका कारण अहिले देशका ७० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी राखीएको छ।निषेधाज्ञाबीच नै नेविसंघका कार्यकर्ताहरु सडकमा उत्रिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाविपरीत काम गरेको भन्दै नेविसंघले पुतला दहन तथा प्रदर्शनलाई सुरू गरेको हो ।

बिज्ञापन

नेविसंघ केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले युवा तथा विद्यार्थीहरुलाई प्रदर्शन गर्न निर्देशन दिएलगत्तै शनिबारदेखि नेविसंघले प्रदर्शन सुरू गरेको हो।
माइतीघर मण्डला,राष्ट्रपति निवास शितलनिवास अगाडि, पशुपति क्याम्पसअगाडि, त्रिचन्द्र क्याम्पस अगाडि, माछापोखरी र चितवनलगायत जिल्लामा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्दै र प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नारा लगाएको छ ।

महामारीका बेला स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै प्रदर्शनको व्यवस्था मिलाएको नेविसंघ चितवनका नेता श्रीकृष्ण लामिछानेले बताए।उनकाअनुसार शनिबार बेलुकी भरतपुरको हाकिम चोकमा नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालको नेतृत्वमा प्रदर्शन गरिएको हो।

निषेधाज्ञाबीच नै सडकमा आएको भन्दै प्रहरीले केही ठाउँमा नेविसंघका कार्यकर्तालाई नियन्त्रणमा पनि लिएको छ।त्रिचन्द्र क्याम्पसअगाडि पुतला दहन गर्ने कार्यक्रमा संलग्न नेविसंघका नेताहरू सुन्दर बडाल र अशोकराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएकोले तुरून्त छाड्न नेविसंघले माग गरेका छन्।