सरकारी पक्षको बहस आज सकिँदै, फागुन दोस्रो साता फैसला सुनाउने तयारी

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दैछन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारसम्ममा बहस सक्न समय दिएपनि भोलि सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले आजै बहस सक्न लागिएको हो ।

सरकारी पक्षको बहस गत माघ १९ गतेदेखि सुरु भएको थियो । यसअघि प्रतिनिधिसभा विघटनविरुद्धका १३ वटा रिट निवेदकका पक्षबाट ७२ जना कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए । सरकारी पक्षको बहस सकिएपछि सभामुख अग्नी सापकोटाका कानुन व्यावसायीको बहस बाँकी छ । त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ ।

बिज्ञापन

जवाफी बहसपछि पाँच वरिष्ठ अधिवक्ता रहेको एमिकस क्युरीले आफ्नो राय राख्नेछ । फागुन पहिलो साताभित्र बहस सक्ने सर्बोच्चको तयारी छ । फैसला लेखनमा केही दिन लाग्ने भएकाले फागुन दोस्रो सातासम्म फैसला आउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते चुनाव गराउने घोषणा गरेकी थिइन् । सो कदम असंवैधानिक भएको भन्दै परेका रिटबारे संवैधानिक इजलासमा पक्ष र विपक्षमा बहस भइरहेको हो ।