नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ झाँक्री पक्राउ

नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहकी केन्द्रीय समस्य तथा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले पक्राउ पुर्जी थमाएर हिरासतमा लिएको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ गर्ने क्रममा झाँक्रीका समर्थक र प्रहरीबीच घम्साघम्सी भएको थियो । समर्थकहरुले प्रहरी प्रशासनविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धान गर्नुपर्ने भनेर पक्राउपुर्जी दिएको छ । प्रहरीले उनलाई भ्यानमा राखेर लगेको छ । विभिन्न स्थानमा आयोजित विरोध सभामा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीविरुद्ध अभिव्यक्ति दिएकी थिइन् । हिजोमात्रै भृकुटीमण्डपको सभामा उनले राष्ट्रपति सन्की र तानाशाह प्रधानमन्त्री ओलीको प्यादा बनेकी आरोप लगाएकी थिइन ।

बिज्ञापन

पक्राउ पर्नुअघि नेतृ झाँक्रीले समर्थकलाई सम्बोधन गरेकी थिइन । उनले पक्राउ पुर्जी लिएर आएपछि गिरफ्तारी दिने निर्णयमा आफू पुगेको बताउँदै समर्थकलाई शान्त रहन आग्रह गरेकी थिइन । उनले राजनीतिक लडाइँ अझै जारी रहने र यसबाट आफू कति पनि विचलित नहुने बताइन् ।