
नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएको छ । सर्वोच्चको फैसलालगत्तै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले उक्त फैसला अप्रिय र अलोकतान्त्रिक रहेको प्रतिक्रिया दिएका हुन् ।प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने अदालतको फैसलालगत्तै सञ्चारमाध्यमसँग कुराकानी गर्दै नेता ज्ञवालीले अदालतको फैसलाले जग खलबल्याउने काम भएको बताए ।
उनले भने, ‘यो फैसलाले जग खलबल्याउने काम भयो । यो फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच द्वन्द्व निम्त्याउने काम भयो । यो राजनीतिक विषय भएकाले अदालतले निर्णय गर्नु हुँदैनथ्यो, तर त्यही भयो ।’
नेपालको संविधानमा अदालतले नै प्रधानमन्त्री तोक्ने कल्पना नगरिएको भन्दै यो फैसलाले संसद्को अधिकार खोसिएको र राष्ट्रपतिलाई अधिकारबाट विमुख गर्न खोजिएको ज्ञवालीको टिप्पणी छ ।
सरकार बन्ने र बनाउने थलो संसद् भएकाले संसदबाटै प्रधानमन्त्री नियुक्ति वा पदमुक्त हुनुपर्नेमा न्यायपालिकाको प्रवेश हुँदा लोकतान्त्रिक भविष्यको चिन्ता बढेको ज्ञवालीले बताए । उनले भने, ‘यो फैसलालाई हामीलाई दु:खित, अचम्मित र चिन्तित तुल्याएको छ ।
किनभने सरकार बन्ने थलो भनेको संसद् हो । तर संसद्भन्दा बाहिरबाट सरकार बनाउने आदेश आउन थाल्यो भने यसले दूरगामी नकारात्मक प्रभाव पार्छ । यो फैसलाले लोकतन्त्रमा घाउ बनाएको छ र यो घाउ निको पार्न समय लाग्छ ।’
अहिलेको परिस्थित निर्माण हुनुमा एमालेका २३ सांसदको हस्ताक्षर पनि कारक रहेको बताउँदै अब यस विषयमा छलफल गर्ने र कसरी अगाडि बढ्ने भनेर पार्टीभित्र आन्तरिक छलफल गर्ने ज्ञवालीले बताए । तर अदालतको फैसला जतिसुकै अप्रिय र अलोकतान्त्रिक भए पनि स्वीकार गरेर अगाडि बढ्ने पनि उनले बताए ।