
दमक । महिला तथा बालबालिकाको हितमा आवाज उठाउदै आएको संस्था `मेची महाकाली बुहारी संयुक्त आवाज ´ दमक उप शाखाले आज झापाको दमकमा बिरोध जुलुस निकालेको छ ।बैतडीमा माघ २१ गते बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको बलात्कारी र हत्यारा पत्ता नलागेको बिरोधमा जुलुस निकालिएको हो ।
`भगिरथीलाई न्याय दे ´`नारी सामन हैन सम्मान हो ´`बलात्कारी खुलेआम बलात्कृत गुमनाम´`अपराधीलाई फाँसी दे भगिरथीलाई न्याय दे ´ जस्ता नारा लेखिएको प्ले-कार्ड बोकेर सयौंको संख्यामा उपस्थित महिलाहरुले चर्को नारा लगाउदै दमक बजार परिक्रमा गरेका थिए ।
`यो देशमा महिला तथा बालबालिका माथि हुने अन्याय ,अत्याचार र बलात्कार कहिलेसम्म ? जबसम्म महिलामाथि हुने हरेक किसिमका अत्याचारको अन्त्य हुदैन तबसम्म हामी चुपलागेर बस्ने छैनौं ।अझ कठोर संघर्षका कार्यक्रम हाम्रो संस्थाले गर्ने छ ।´ ओमकार टाइम्स प्रतिनिधिसंग कुरा गर्दै संस्थाको दमक उप- उप समिति संयोजक जमुना निरौला अधिकारीले बताउनु भयो ।
`हिजो निर्मला पन्त आज भागरथी भट्ट भोलि को ? यो शृङ्खला कहिलेसम्म ? हामी सम्पूर्ण नेपालीको जिम्मा राज्यले लिनुपर्ने हैन ? जबसम्म राज्यले यी सम्पूर्ण घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कारबाहीको दायरमा ल्याउदैन तबसम्म हाम्रो संघर्ष जारी रहन्छ ।´ संस्थाकी झापा जिल्ला सचिव कविता थापाले ओमकार टाइम्स प्रतिनिधिसंग कुरा गर्दै बताउनुभयो ।
कार्यक्रममा संस्थाको दमक उप-समिति संयोजक जमुना निरौला अधिकारीको संयोजकत्वमा भएको थियो भने जिल्ला अध्यक्ष शिखा खड्का , जिल्ला सचिव कविता थापा , उपाध्यक्ष गंगा भट्टराई लगायत कार्यक्रममा झापा जिल्ला तथा दमक उप- समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
छोटोे समयमा महिला तथा बालबालिकाको पक्षमा दरिलो आवाज उठाउदै लोकप्रियता हासिल गरेको यस संस्थाले देशका ४५ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।हाल अमेरिका रहेर पनि आफ्नो देशको महिला तथा बालबालिकाको क्षेत्रमा योगदान दिनुपर्छ भन्ने सोचका साथ यस संस्थाको नेतृत्व गर्दै केन्द्रीय अध्यक्षको जिम्मेवारी यमु शर्मा सुब्बाले सम्हाल्नु भएको छ ।