
जनकपुरधाम । प्रदेश २ सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले सरकारको उपलब्धि गनाएका छन् । मुख्यमन्त्री राउतसहित तीन जनाले आजकै दिन शपथ ग्रहण गरेका थिए । प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा गरेको अवसरमा प्रदेश सरकारले आफ्नो उपलब्धि सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री राउतले तीन वर्षको उपलब्धि विभिन्न ११ शीर्षकमा सार्वजनिक गरे । मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, त्यसको संस्थागत, प्रदेशको आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा विकासलाई प्राथमिकतामा राख्दै अगाडी बढी रहेको दावी गरे । उनले बेटी पढाउ बेटी बचाउ अभियान, एक शहीद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका रुपमा मनाए ।



मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेशभर ६ हजार ९ सय ६ छोरीको बिमा, २६ हजार ९ सय ५६ छोरीको तथ्यांक संकलन, २ सय ४१ सामुदायिक विद्यालयमा १४ हजार साइकल वितरण, २८ छात्रालाई छात्रावृति, १ सय ५ महिलालाई लोकसेवा तयारी कक्षाको सुविधालाई आफ्नो उपलब्धिको रुपमा लिएका छन् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर, रौजा मजार, छिन्नमस्ता भगवती, सहलेश स्थान, पारसनाथ, भिसवा बौद्ध गुम्बाहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य अगाडी बढाइनु, २७ वटा पोखरीहरुको सौन्दर्यीकरण, प्रदेशका ८ वटै जिल्लाका मालपोत, नापी, अदालत आदि कार्यालयहरुमा ६० वटा सार्वजनिक सौचालय निर्माण कार्य अगाडी बढाइएको मुख्यमन्त्री राउतले सार्वजनिक गरेको उपलब्धिमा उल्लेख छ ।

मधेश आन्दोलनका २७ शहीद परिवारबाट एक जनालाई रोजगारी, वीरगंज महानगरपालिकामा मधेश आन्दोलन शहीद स्तम्भ, आन्दोलनका घाइतेहरुलाई राहत उपलब्ध गराइएको उपलब्धिहरुमा उल्लेख छ । प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी, जिम्मेबार, पारदर्शी बनाई सरकारको खर्चलाई मित्तव्ययी, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले प्रदेशका सबै निकायहरुमा लागू हुने गरी खर्च मापदण्ड निर्देशिका २०७७ जारी गरीलागू गरिएको र यसबाट चालु खर्चलाई नियन्त्रणमा राख्न सहयोग पु¥याएको दावी गरिएको छ ।
प्रदेश सरकारले आफ्नो तीन वर्षको अवधिमा ५०.९५ कि.मि. कालोपत्रे सडक निर्माण, ७४.९० कि.मि. पक्की सडक ढलान, १७०.१७ कि.मि. ग्राभेल सडक निर्माण, ५.५४ कि.मि. नाला निर्माण, १४ वटा कल्भर्ट निर्माण, ५९.८१ कि.मि. नयाँ कच्ची सडक निर्माण गरेको छ बताएका छन् ।
प्रदेश सरकारले आफ्नो तीन वर्षको अवधिमा कृषि उत्पादन र उत्पादकत्व बढाउन १६५ वटा नहर प्रणाली मर्मत सम्भार गरी संचालनमा ल्याइएको आफ्नो उपलब्धिमा उल्लेख गरेको हो । प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि वीरगंजमा प्रविधि विश्वविद्यालय, सप्तरीमा कृषि विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयहरु स्थापनाको लागि प्रारम्भिक कार्य अगाडि बढाइएकोलाई प्रदेश सरकारले आफ्नो उपलब्धिमा उल्लेख गरेको छ ।