भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश

किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ ।

उनीमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको छ । ती किशोरलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो ।  अदालतले १८ वर्ष नपुगेकाले उनलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो ।

बिज्ञापन

ती किशोरलाई बुधबार डोटीमा रहेको सुधारगृह पठाउने तयारी छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरीले घटनाको अनुसन्धानपछि किशोरलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५/५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । उनले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन्  ।

 

सनातन धर्म माविमा कक्षा ११ पढ्ने किशोर र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने  भागरथी एकै गाउँका हुन् । नाताले यी दुवैजना दिदीभाइ पर्छन् । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो । भागरथीको भेजाइनल स्वाब र किशोरको डीएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको भए पनि रिपोर्ट आएको छैन ।