
मृगौला मानव शरीरका सर्वाधिक महत्त्वपूर्ण अङ्गमध्ये एक हो । मृगौलाले शरीरका सबै प्रकारका बिकार निकाल्ने गर्दछ । मृगौलाले सही ढङ्गबाट काम गर्न नसक्दा वा कुनै कारण खराब भएमा शरीरमा अनेक प्रकारका गम्भीर रोग लाग्ने खतरा हुन्छ । त्यसैले शरीरमा मृगौलासम्बन्धी कुनै पनि लक्षण देखिए बेवास्ता गर्नुहुँदैन ।
निम्न लक्षण देखिए मृगौला रोग हुने सम्भावना अधिक हुने हुँदा कुनै एक लक्षण देखिए पनि तुरुन्त डाक्टरको परामर्श लिनुपर्ने हुन्छ ।
– पिसाबको रङ गाढा हुने वा पिसाबमा कुनै परिवर्तन आएमा
– पटक–पटक पिसाब लाग्ने
– पिसाबबाट खराब गन्ध आउने
– पिसाबमा फिज आउने
– पिसाब फेर्दा जलन हुने, पोल्ने तथा चिलाउने
– आँखा वरिपरि वा खुट्टा सुन्निने
– कमजोरी, एनोरेक्सिया तथा केही नगर्दै सजिलै थकित हुने
– वाकवाकी लाग्ने, बान्ता हुने, पटक–पटक बान्ता भइरहने
– छाला सुक्खा हुने, छाला चिलाउने
– उच्च रक्तचाप वा एनेमिया (कम हेमोग्लोबिन)लगायतका समस्या देखापर्ने
– तल्लो पेट दुख्ने तथा ढाड दुख्ने
८० प्रतिशत मृगौला बिग्रिएपछि मात्र बिरामीमा लक्षण देखिन थाल्छ । त्यसैले, केही रोग तथा लक्षण नभएका मानिसले समेत समय–समयमा मृगौलाको परीक्षण गराउनु उचित हुन्छ । मृगौला बिग्रिसकेपछि यसको उपचार गराउनुभन्दा पनि मृगौलामा रोग लाग्नै नदिन सचेत हुनुपर्छ ।