

चैत १४ – प्रहरीले वीरगञ्जबाट अवैध लागूऔषध गाजा ओसारपसारमा संलग्न आमाछोरीलाई पक्राउ गरेको छ। प्रहरीले बाराको महागढीमाई नगरपालिका १० घर भइ वीरगञ्ज महानगरपालिका १ छपकैयामा डेरा गरी बस्ने ३८ वर्षीया अञ्जुदेवी कर्ण र उनकी छोरीलाई पक्राउ गरेको हो।



बिहीबार बिहान ८ बजे प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिलका १९ ईनर्वा चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।उनीहरुको साथबाट लागूऔषध गाजाको धुलो २४ पाकेट अर्थात ६ किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी नायब उपरीक्षक रेवती ढकालले जानकारी दिए।पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्दै एसपी ढकालले भने,नेपालबाट भारततर्फ शंकास्पद रुपमा जाँदै गर्दा शंकराचार्य गेट नजिकैबाट आमाछोरी पक्राउ परेका छन। उनीहरुको साथबाट अन्दाजी ६ किलो गाजाको धुलो जस्तो पदार्थ नियन्त्रणमा लिएका छौं।उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको छ।पक्राउ परेकी छोरीको भने प्रहरीले पहिचान खुलाएको छैन।जन्मदर्ता वा जन्म खुल्ने प्रमाण हेरेर मात्रै उनीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ।गाजाको धुलो जस्तो देखिने पदार्थ उनीहरुले शरीरको बिभिन्न भागमा लुकाएर भारततर्फ लैजान लागेका थिए।उनीहरुविरुद्ध लागूऔषधविरुद्ध मुद्धा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।पक्राउ परेकी कर्णले आफू लागूऔषध कारोबारी नभएको दावी गरेकी छन उनले समान रक्सौल पुर्याएवापत ४ हजार पाउने आशामा समान लिएर गएको बताइन।एकजना जोगीको सल्लाहमा पहिलो पटक यस्तो काम गरेकी हुँ।

नचिनेको व्यक्तिले आएर समान दिएर गयो,रक्सौलमा जाकिर मियाँ भन्ने व्यक्तिलाई दिनु भनेर नम्बर पनि दिएकोे थियो।यसमा के थियो भन्ने पनि मलाई थाहा थिएन,उनले भनिन,अरुको घरमा चुला चौकाकाम गरेर गुजारा चलाउँदै आएको थिएँ ४ हजार दिन्छु भनेका थिए,पैसा पनि पाएको छैन।कर्णले श्रीमान नभएका कारण छोरा र छोरीसँगै वीरगञ्जमा डेरामा बस्दै आएको बताइन।तर,शरीरका विभिन्न स्थानमा गाजा लुकाएर लगिरहेकोले अञ्जुको कुरामा विश्वास गर्ने आधार नभएकको बताए।पछिल्ला दिनमा लागूऔषध ओसारप्रसारमा संलग्न हुनेहरु पक्राउ पर्ने गरेको भएपनि मुख्य कारोबारी पक्राउ परेका छैनन।प्रहरी उपरीक्षक ढकालले भने भन्न नसक्ने र नचाहाने दुवै खालका मानिसहरुका कारण मुख्य कारोबारीसम्म पुग्न कठिनाइ भएको बताए।हामीले पक्राउ गरेर ल्याउँछौं,कतिपयलाई मख्य कारोबारीको बारेमा थाहा हुन्छ तर बताउँदैनन।कतिपयलाई उनीहरुको बारेमा जानकारी नै हुँदैन,नक्कली नाममा भेटेर काम लगाएका हुन्छन्,उनले भने,कतिपयलाई रक्सौलमा फलानो ठाउँमा मान्छे आउँछ समान दिनु भनेको हुन्छ,कतिपयलाई फोन नम्बर मात्रै दिएको हुन्छ।चेन ग्याप हुने हुँदा मुख्य कारोबारी पक्राउ पर्न सकेका छैनन।तर हामी आफ्नोतर्फबाट सकेको कोशिश गरिरहेका छौं।नागरिक सम्पन्न हुने र लोभ लालचमा नफस्ने हो भने यस्तो समस्या नआउने तर्क उनको छ।