
काठमाडौं । राजधानी उपत्यकामा सुक्खा धुलो मिश्रित हावाका कारण तुँवालो बढेको छ । भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ । मानिसहरुलाई आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन् ।

भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।



उनका अनुसार हवाई उडानमा समेत भिजीविलिटी कमजोर हुँदा समस्या आएको छ । विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु एयर डट कमका अनुसार शुक्रबार दिउँसो केहीबेर काठमाडौं विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको थियो ।
विज्ञहरुले श्वास प्रश्वासका रोगी बालबच्चा र वृद्धवृद्धालाई भरसक बाहिर ननिस्कन मास्क अनिवार्य गर्न आग्रह गरेका छन् ।

हवाइ उडान प्रभावित
काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।
उनका अनुसार ‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ,’ उनले भने, ‘आउने र जाने दुवैथरी रोकिएको छ ।’ सबैभन्दा धेरै भरतपुर जाने उडानहरु डिले भएका छन् । काठमाडौं–भरतपुर रुटमा बिहीबार समेत जहाज डिले बनेका थिए । तराईसहित विभिन्न स्थानका जंगलमा लागेको आगो र धुवाँ हावामा मिसिँदा वायुप्रदूषण बढेको छ ।