गौरादहमा ढल पुरेर डिभाइडर बनाएको बिषयमा के भन्छन् पार्टीका स्थानीय नेताहरु ?

झापा । ओमकार टाईम्स अनलाइनमा निरन्तर रुपमा गौरादह नगरपालिकाका जनप्रतिनिधिहरुले पदको दुरुपयोग गरेर आफ्नो व्यक्तिगत संरचना जोगाउन सार्वजनिक संरचना ध्वस्त पारेको बिषयमा समाचार प्रकाशित भएपछि गौरादह नगरका राजनैतिक दलहरुका स्थानीय नेताहरुको पनि प्रतिक्रिया आउन थालेको छ ।

 

बिज्ञापन

जनप्रतिनिधि जस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले धेरै कुरामा बिचार पुर्‍याउनु पर्ने ठम्याइ छ नेपाली कांग्रेस गौरादह नगर सभापति यादवराज सेढाईको । ओमकार टाईम्ससंग कुरा गर्दै सेढाई भन्छन् `जनप्रतिनिधिले आफ्नो व्यक्तिगत सम्पत्ति जोगाउन सार्वजनिक सम्पत्ति भत्काउनु गलत हो ।´ नगरमा बजेटको नीति तथा कार्यक्रममा आफूले यी लगायत सम्पूर्ण बिषयमा प्रष्ट धारणा राखिएको सेढाईले बताए ।

 

जनप्रतिनिधिहरु जनताबाट चुनिएका भएतापनि अहिलेका अधिकांश जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थमा लिप्त देखिन्छन् ओमकार टाईम्स प्रतिनिधि संग कुरा गर्दै रा.प्र.पा.का जिल्ला अध्यक्ष अमर बिष्टले भने ।` गौरादहमा मेयर सहित जनप्रतिनिधिले आफ्नो घर बचाउन ढल पुरेर डिभाइडर बनाएको बिषय छ , हामी पनि पार्टीको तर्फबाट यो बिषयमा छानबिन गर्छौं र आधिकारिक धारणा सार्वजनिक गर्छौं ।´ बिष्टले भने ।

 

सडक बिभागले ठेक्का लगाएर बनाउन शुरु गरेको बाटोमा यसरी डिभाइडर बनाउने काम अत्यन्त निन्दनीय छ , त्यो गर्नै नहुने काम हो ओमकार टाईम्सलाई नेकपा नगर अध्यक्ष मित्रदेव काफ्लेले भने `आवश्यक भएको ढललाई पुरेर साँघुरो बाटोमा डिभाइडर बनाउने काम अत्यन्त गलत छ ।बर्षाको पानीको निकाश खोइ ? के उदेश्यले यस्तो गरियो ? यो कुरामा उहाँहरुको नियत राम्रो देखिदैन ।´ ढल भत्काएको प्रसंगमा काफ्ले भन्छन् `शहरी बिकाशले बनाएको ढल कुनै विकल्प नराखि भत्काउनु गैरकानुनी हो । उहाँहरुलाई यो अधिकार कस्ले दियो ? यो बिषयमा नेकपा गौरादह गम्भीर छ हामी पार्टीको तर्फबाट छानबिन गर्छौं ।´

 

गौरादह नगरपालिका मेयर रोहित कुमार साह र वार्ड नम्बर १ का वार्डसदस्य कोमल ढुंगानाले आफ्नो घर बचाउनलाई भैरहेको ढल पुरेर विपन्न आभासको बजेटले रातरात डिभाइडर बनाएको गम्भीर आरोप लाग्दा पनि गौरादहका राजनीतिक दलले यो कुरा देखेर नदेखे जस्तो गर्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।