
रौतहट । रौतहटमा प्रहरी सवार एक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।




ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपको लागि लिएर जाँदै गरेको भ्यान चन्द्रपुर १० स्थित बालचनपुर नजिकै मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।

यसै दुर्घटनामा गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ६ का निर्मल साह र सुनसरी इनरुवा नगरपालिका वडा नं. ९ का रमेश कुमार चौधरीको उपचारको क्रममा नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा परी प्रहरी तर्फ ६ जना र अन्य दुई जना थुनुवा घाइते भएका छन् । अभद्र व्यवहारको मुद्धामा पक्राउ परेका कुमार गेलाल र टेक वहादुर तामाङ्ग को चन्द्रपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक दिनेश चौलागाई, प्रहरी हवल्दार उमेश यादव, प्रहरी हवल्दार बिनोद प्रसाद मण्डल, प्रहरी जवान संजिव कुमार कार्की, हरि किशोर चौधरी तथा अजय कुमार यादव रहेका छन् ।
प्रहरी जवान हरिकिशोरलाई भने थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको चन्द्रपुर अस्पतालका प्रमुख डा. सुवास चौधरीले जानकारी दिनुभयोे । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले काठ तस्कारीमा बरामद गरेको नम्बर प्रष्ट नभएको भ्यान दुर्घटनामा परेको हो ।
सोही भ्यानमा थुनुवाको म्याद थप गर्नका लागि प्रहरीले प्रयोग गरेको हो । भ्यानको पत्ता भाँच्चिएर दुर्घटनामा भएको प्रहरीले बताएको छ ।