
काठमाडौं । काठमाडौं उपत्यका एक साता भन्दा बढी समयदेखि विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । गत हप्ताको सोमबारदेखि मंगलबारसम्म लगातार काठमाडौं शीर्ष स्थानमा छ ।
मंगलबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३३ रहेको छ । जबकि दोस्रो स्थानको भारतको नयाँ दिल्लीको एक्यूआई १६६ रहेको छ ।
काठमाडौं निरन्तर शीर्ष स्थानमा रहँदासमेत सरकारले यसलाई न्यूनीकरण गर्न सकेको छैन । यसअघि गत सोमबार बिहान ९ बजे सबैभन्दा बढी ३३१ एक्यूआई रहेको थियो ।
मौसममा आएको खरावीका कारण पनि अहिले पनि काठमाडौं सर्वाधिक प्रदूषित हुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ ।
पश्चिमी वायुको न्यून चापीय असर बढी भएकाले पनि प्रदूषणका लागि थप मद्धत पुगेको हो । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जनाएको छ । गत हप्ताकोआइतबार मात्रै नेपालमा ७ सय १८ वटा जंगलमा डढेलो लागेको थियो । काठमाडौंमा मात्र नभएर मुलुकका अन्य शहरहरुमा पनि प्रदूषणको पारो अन्त्यन्त बढेको छ । पानीसँगै उपत्यकामा वेगको हावा नचलेसम्म प्रदूषण घट्ने सम्भावना नरहेको मौसमहरु बताउँछन् ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले वायु प्रदूषण न्यूनीकरण गर्न सकिने विषयमा छलफल भइरहेको बताए । ‘गत हप्ताको तुलनामा पानी परेपछि प्रदूषण कम भएको छ तर, फेरि बढ्दै गयो भने सरकारले त्यही अनुसार निर्णय गर्नेछ,’ उनले भने ।
.अत्यधिक वायु प्रदूषण भएका कारण यसले श्वासप्रश्वास सम्बन्धी गम्भीर समस्या निम्त्याउने वातावरणीय स्वास्थ्यविद् एवं नेपाल खुला विश्वविद्यालयका सहायक प्राध्यापक डा. यादवराज जोशीले बताए । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।




