
उर्लाबारी। उर्लाबारीको अग्रणि अस्पताल गोदावरी हस्पिटलले फिजियो थेरापी सेवा सञ्चालनमा ल्याएको छ ।

नयाँ बर्ष २०७८ को अवसर पारेर वैशाख १ गते फिजियो थेरापी तथा पुनस्र्थापना विभागको विधिवत उद्घाटन गरिएको हो । फिजियो थेरापी विभागको शुभारम्भ गर्दै हस्पिटलका मेडिकल डाइरेक्टर डा. सुर्यनारायण साहले थेरापी सेवालाई गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने प्रतिवद्धता जाहेर गर्नुभयो ।



एम.डी.साहले स्वास्थ्य क्षेत्रमा प्राकृतिक, आयुर्वेद तथा भौतिक चिकित्साशास्त्रको महत्व रहेको उल्लेख गर्दै गोदावरी हस्पिटल यस क्षेत्रको विकासमा अहोरात्र लागिपर्ने जनाउनुभयो । उहाँका अनुसार थेरापीमा कुनै दीर्घकालीन असर नहुने हुँदा यसको क्षेत्र फराकिलो बन्दै गएको छ।

गोदावरी हस्पिटलले थेरापी सम्बन्धी दक्षजनशक्ति उत्पादन गर्ने, थेरापी सम्बन्धी उच्च अध्ययन र थप अनुसन्धानलाई अगाडि बढाउने पनि डा.साहले विश्वास दिलाउनु भयो । उर्लाबारी–७ स्थित पश्चिम बस स्टेण्डमा अवस्थित साविकको गोदावरी हस्पिटलकै भवनमा फिजियो थेरापी तथा पुनस्र्थापना विभाग संचालनमा ल्याइएको हो । अत्याधुनिक उपकरण मार्फत उपचार गरिने बताइएको छ । विगतमा विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा खासगरी हाडजोर्नी र नसा रोगका विरामीहरु ठुला सहरमा पुगेर थेरापी गराउन बाध्य थिए ।
विगतका बर्षहरुमा सामान्य औषधि उपचार गर्नको लागि विराटनगर,धरान र विर्तामोड जानु पर्ने बाध्यता हट्दै गएको छ । पूर्वी मोरङमै पहिलोपटक विशेष र अत्याधुनिक उपकरण मार्फत उपचार हुने भएपछि खुसी लागेको उर्लाबारी–४ का अनुप बराल बताउछन् । गोदावरी हस्पिटलको थेरापी सेवा विहानदेखि साँझसम्म सञ्चालन हुने बताइएको छ ।
यस्ता छन् थेरापीका सेवाहरुः
गोदावरी हस्पिटलको को थेरापी विभागमा मेरुदण्ड भाँचिएका, गर्धन तथा कम्मरको नशा च्यापिएको, पक्षघात, मस्तिष्क पक्षघात, पार्किन्सन रोग, बाथ रोगको विशेष उपचार हुने बताइएको छ । विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श, दुःखाई निर्मूल उपचार, हाडजोर्नी, नशा, मनोरोग, मधुमेह, थाइराइड, स्नायु, नाक, कान घाँटीलगायतको उपचार गरिने जनाइएको छ ।
यस्तै, म्यानुअल थेरापी, न्यरो, हाडजोर्नी, स्पोटस तथा बालबच्चा सम्बन्धी, स्त्री रोग सम्बन्धी उपचार समेत गरिने थेरापी विशेषज्ञ डा. पुष्पराज बोहोराले जानकारी दिनुभयो ।