आज विश्व औलो दिवस, यस वर्षको नारा ‘शून्य औलोको लक्ष्यमा पुग्दैछौँ’

आज विश्व औलो दिवस। यस वर्षको दिवसको नारा ‘शून्य औलोको लक्ष्यमा पुग्दैछौँ’ भन्ने तय गरिएको छ। कोरोना भाइरसको संक्रमण र जोखिम बढेको कारण कुनै पनि औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन्। नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो पछिल्ला वर्षमा निवारण उन्मुख रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

औलो निवारणका लागि विगतमा गरिएका प्रयासको फलस्वरुप सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफलता प्राप्त भएको छ।  दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म औलो रोगलाई अन्त्य गर्नुपर्ने लक्ष्य रहेपनि नेपालले सन् २०२५ भित्र नै औलो निवारण गर्ने गरी नीतिगत, संस्थागत र कार्यक्रमगत प्रयासहरु गरिरहेको छ।

दिवसको अवसरमा शुभकामना दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले औलो निवारणका लागि नेपाल सरकारले खेल्नुपर्ने नेतृत्वदायी भूमिकालाई अझै प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।