
काठमाडौ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण तीव्र रुपमा फैलिन थालेपछि बुधबार (आज) मध्यरातिदेखि लागु हुने गरी झापामा पूर्ण निषेधाज्ञा लगाइएको छ ।
सङ्क्रमणको दोस्रो लहरको भयावह स्थितिलाई मध्यनजर गरेर झापामा पूर्ण निषेधाज्ञा लगाउन लागेको हो । आइतबार रातिदेखि आङ्शिक निषेधाज्ञा लगाइएको थियो । त्यसको उल्लङ्घन नरोकिएपछि प्रशासनले कडा कदम चालेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सर्वसाधारण आफै सचेत नभएको र आङ्शिक निषेधाज्ञाको उल्लङ्घन बढेको पाइएपछि पूर्ण निषेधाज्ञा लगाउनु परेको बताए । दिनानुदिन ठूलो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित थपिन थालेपछि बाध्य भएर कडा निर्णय लिनुपरेको उनको भनाइ छ ।
तिमल्सिनाका अनुसार झापामा बुधबार मध्यरातदेखि पूर्ण निषेधाज्ञा लगाउने निर्णय भइसकेको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मङ्गलबार राति बसेको बैठकले जिल्लाभर पूर्ण निषेधाज्ञा लगाउने निर्णय गरेको उनको भनाइ छ । वैशाख ३१ गते राति १२ बजेसम्म पूर्ण निषेधाज्ञा कायम रहने छ ।