
संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षकलाई विद्यालय प्रशासनले लकडाउनको निहुमा फागुन देखि नै तलब नदिएको शिक्षकहरुको गुनासो रहेको छ।निजी विद्यालयमा अध्यापन गराउने शिक्षकको छाता संगठन,संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समिति (इस्टु) ले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई इमेल मार्फ़त आँफ्नो माग बुझाएको छ।

सरकारद्वारा जेष्ठ १५ गते प्रस्तुत गरिने बजेटमै लकडाउनको अवधि अन्तर्गतको सम्पूर्ण तलब राहतस्वरुप सरकारबाटै प्रदान गर्ने व्यवस्थाको माग राख्दै इष्टु अध्यक्ष होमकुमार थापाले इमेल गरेका हुन्।



गत वर्ष पनि अधिकांश निजी विद्यालयहरुले आठ महिनाको तलब कटौती गरेका थिए।विद्यालयहरुले यस वर्ष पनि फागुनदेखिको तलब नदिएको अध्यक्ष थापाले बताए।परिक्षाको निहुमा विद्यालयहरुले अभिभावकबाट शुल्क उठाइरहेको तर शिक्षकहरुलाई भने तलब भत्ता प्रदान नगरेको पनि उनले बताए।लाखौँ विद्यार्थीहरुसँग प्रत्यक्ष भेटबिना कक्षा संचालन गरी शिक्षण सिकाई गराउनुपर्ने भएकाले सरकारले शि़क्षकहरुलाई पनि अग्रपंक्तिको श्रेणीमा राखेर हेर्नुपर्ने पनि मागमा उल्लेख गरिएको छ।
