
काठमाडौँ : बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म यी संक्रमितको मृत्यु भएको हो । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, १÷१ जना बर्दिया, सल्यान र कैलालीका छन् ।
भेरी अस्पतालमा उपचाररत खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षीया महिलाको बिहीबार साँझ, बाँकेकै बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ की ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–५ की ६१ वर्षीया महिलाको शुक्रबार विहान तथा कोहलपुर– बाँकेकै २८ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत लम्कीचुहा–९ कैलालका ४० वर्षीय पुरूष र भेरी अस्पतालमा उपचाररत कुमाख गाउँपालिका–१ सल्यानका ६७ वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको हो भने मधुबन नगरपालिका ६, बर्दियाका ५९ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २२२ पुगेको छ भने अन्य जिल्ला बाहिरका १६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।