आज देशभर सहिद दिवस मनाइँदै

प्रजातन्त्र स्थापनाका लागि जहानिया राणा शासनको विरुद्धमा आफ्नो ज्यान आहूती गरेकाको सम्झनामा आज देशभर बिभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ । सहिदको सम्झनामा विक्रम सम्वत् २०१२ देखि नै दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपाली जनतालाई स्वतन्त्र बनाउन जहानिया राणा शासन, निरंकुश पन्चायती व्यवस्थाका बिरुद्घ आन्दोलनमा आफ्नो जीवन अर्पण गरेकाहरुलाई सहिदको दर्जा दिँदै आइएको छ ।

बिज्ञापन

मुख्य गरी राणा शासनको अन्त्यका लागि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको संघर्ष र बलिदानको स्मरणका रुपमा सहिद दिवस मनाउन थालिएको हो । बिभिन्न संघ संस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ सम्म सहिद सप्ताह मनाउने गरिएको छ ।

राणा शासनबिरुद्ध नेपाल प्रजा परिषद् स्थापना गरी जनतालाई सूसुचित पार्ने क्रान्ति गरेको अभियोगमा तत्कालीन राणा शासकले विक्रम सम्वत् १९९७ माघ १० गते शुक्रराजलाई टेकुस्थित खरीको रुख तथा माघ १३ गते धर्मभक्तलाई सिफलमा झुन्ड्याएर मृत्युदण्ड दिएका थिए ।

माघ १५ गते गंगालाल र दशरथलाई शोभा भगवती मन्दिर नजिकै गोली हानी हत्या गरिएको थियो । सहिद दिवसका दिन सरकारले सार्वजनिक विदा दिने गरेकामा गएका केहि वर्षदेखि कटौती गरिएको छ ।