लिफ्ट मागेकी एक महिलालाई बलात्कार गरेको आरोपमा उर्लाबारीका दुईजना पक्राउ

दमौली । नारायणगढका लागि बस नभेटेर लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह चालकले ट्रकभित्रै बलात्कार गरेका छन् । बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई उनीहरुले बलात्कार गरेका हुन् ।

 

बलात्कारको अभियोगमा प्रहरीले ट्रकका चालक मोरङ ऊर्लाबारीका ३० वर्षीय विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीलाई पक्राउ गरिसकेको छ ।

 

उनीहरुविरुद्ध जर्बजस्ती करणी मुद्दामा अनुसन्धानका लागि तनहुँ अदालतबाट अनुमति लिएर हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

 

प्रहरीका अनुसार नारायणगढ आफन्तकहाँ जान लागेकी ती महिलाले बस नभेटेपछि ट्रकसँग लिफ्ट मागेकी थिइन् । तर करिब दुई घण्टामा नारायणगढ पुगेको ट्रकबाट झर्न नदिएर आफूलाई जर्बजस्ती ट्रकमै बलात्कार गरिएको महिलाको आरोप छ ।

 

बिहान करिब १ बजेतिर भएको घटनापछि ट्रकले आफूलाई दमौली झारेको र आफू पोखरा पुगेपछि प्रहरीको सम्पर्कमा पुगेको महिलाले बताइन् । घटनालगत्तै प्रदेश प्रहरी कार्यालयको सूचनाका आधारमा तनहुँ प्रहरीले बीपी वन वाटिका मैदानमा रड अनलोड गर्दै गरेको अवस्थामा चालक र सहचालक दुवैलाई पक्राउ गरेको लामिछानेले बताए ।

 

पीडित ३० वर्षीया महिला विवाहित रहेको बताइएको छ । उनलाई आफन्त सम्पर्कमा आएपछि दमौलीस्थित महिला आश्रयगृहमा राखिएको छ ।