उपत्यकाको निषेधाज्ञा -आजदेखि थप कडाइ

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो ।

उपत्यकाका तीन जिल्ला काठमाठौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको मङ्गलबारको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । यसपालि भने किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ । बिहान–बेलुकाको घुमघाम, मर्निङ र इभिनिङ वाकमा समेत रोक लगाइएको छ ।

बिज्ञापन

यसपालि निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास० खरिद, बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो ।

उक्त अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बढीमा २ जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ ।